काठमाडौँ । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ ९ दिने चीन भ्रमणमा निस्किने भएका छन् । कुटनीतिक, धार्मिक र राजनीतिक भ्रमणमा निस्किन लागेका मन्त्री श्रेष्ठले नेपालमा समेत विभिन्न मुलुका विदेशी प्रतिनिधिसँग भेटवार्ता तीव्र गरिरहेका छन् । यस्तो अवस्थाका बीच परराष्ट्र मन्त्री बने लगत्तै उनी ९ दिनको लामो समय लिएर चीन भ्रमणमा किन निस्किदैछन् त ?
परराष्ट्रमन्त्री बने लगत्तै नारायणकाजी श्रेष्ठले विभिन्न देशका प्रतिनिधिहरुसँगको भेटलाई तीव्रता दिँदै आएका छन् । अब विदेशीसँगको भेटलाई उनी नेपाल भित्र मात्रै सीमित राख्ने छैन । मन्त्री बनेको एक महिना नपुग्दै नारायणकाजीले चीन भ्रमणका लागि ९ दिनको समय तालिका बनाएका छन् ।
चिनियाँ समकक्षी वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीन भ्रमणमा जान लागेका छन् । उनको भ्रमण ९ दिनसम्म रहने छ । चीन भ्रमणको क्रममा मन्त्री श्रेष्ठले मंगलबार चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । त्यसपछि उनले चीनमा उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने छन् । उनी चैत्र १९ गतेमात्रै नेपाल फर्किनेछन् ।
चीनको औपचारिक भ्रमणमा गएको बेला अघिल्लो समय हृदयघातपछि त्यहि उपचार गराएर फर्किएका तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि चीन भ्रमणमा निस्किन लागेका हुन् । उनी चीनको लामो समयको भ्रमणमा निस्किन लागेपछि विभिन्न आशंका समेत गरिएका छन् । ९ दिन लामो भ्रमणमा उनी किन चीन जान लागेका हुन भन्ने विषयमा नै शंका छ । तर, उनले चीनमा गर्ने भ्रमणले नयाँ राजनीतिक सन्देश दिने र वापन्थीहरुको मिलापमा समेत केहि नयाँ हुने दाबी गर्न थालिएको छ ।
गठबन्धन फेरिएपछि चीनको चासो
कांग्रेससहितको गठबन्धन भत्किएर वामपन्थी बाहुल्य सरकार गठन भएको छ । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले निरन्तर कम्युनिष्ट नेतृत्वका सरकार र देशसँग सम्बन्ध स्थापित गराउने विषयलाई केन्द्रमा राख्दै आएको छ । यस्तोमा परराष्ट्र मन्त्री बनेका श्रेष्ठ ९ दिने लामो चीन भ्रमणमा निस्किने भएपछि यसबारे विभिन्न कोणबाट चर्चा भइरहेको छ ।
नेपालको सत्ता गठबन्धन फेरिएपछि चीनले अस्वभाविक चासो राख्न थालेको छ । चीनले नेपालको वापन्थी जनमतलाई जोगाउदै यसको संरक्षण गर्नु पहिलो दायित्व ठान्दै उनीहरुलाई मिल्नका निम्ति दबाब दिदै आएको छ । वामपन्थी शक्ति मिलेर नयाँ राजनीतिक ध्रुविकरण गर्नुपर्ने चीनको जोड रहने र पछिल्लो समय त्यो स्थिति बन्दै गएको ठानेको चीनले विभिन्न किसिमले यस्तो हस्तक्षेपलाई अघि बढाउदै लगेको विश्लेषण हुन थालेको छ ।
परराष्ट्रको जिम्मेवारी र भेटवार्ता
परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेपछि मन्त्री श्रेष्ठले अधिकांश देशका राजदूतसँग भेटवार्ता गरे । यसमा अमेरिकादेखि रुस, चीन, भारत लगायत देश छन् । प्रायः देशका राजदुतसँग मन्त्रालयमै भेटेका परराष्ट् मन्त्री श्रेष्ठले पछिल्लो समय रुसमा रहेका नेपालीको मुद्दा समाधान गर्न सके यसले अर्को स्थिति सिर्जना गर्न सक्छ भन्ने विश्वास लिएका छन् । यसकारण पनि उनले विदेशी निकायका प्रमुखसँग भेट्ने र उनीहरुको धारणा सुन्ने काम गरिरहेको बताइन्छ ।
धेरै देशका राजदुतबाट बधाई थापेका उनले आफ्नो प्रभाव देखाउन यो कामलाई तीब्रता दिए वा विदेशी चलखेलले सीमा नाघेपछि सबैसँग भेट्नुपर्ने बाध्यता बन्यो त्यो भने रोचक विषय बनिरहेको छ ।
चीन भ्रमणको कूटनीतिक अर्थ
चीन भ्रमणमा अधिक समय छुट्याएका मन्त्री श्रेष्ठले रुसी सरकारसँग चीनमार्फत नेपालीको उद्दार र उनीहरुलाई गरिने व्यवहारमै केहि नयाँ गर्न खोजेको बताइन्छ । चिनियाँ समकक्षी वाङ यी पछिल्लो समय राष्ट्रपति सी जिनपिङका विश्वासपात्रको रुपमा चिनिन्छन् । उनीमार्फत मन्त्री श्रेष्ठले रुसी सरकार समक्ष प्रत्यक्ष कुराकानी गर्ने विषयलाई थप प्रभावकारी बनाउने र नेपाली पक्षको माग पुटिनबाटै सम्बोधन गराउने अपेक्षा लिएको देखिन्छ । अर्कोतर्फ नेपालमा वामपन्थी एकता, सहकार्य लगायतका विषयमा समेत माओवादी केन्द्रको तर्फबाट प्रतिबद्धता जनाउने काम हुने चर्चा चलिरहेको छ ।
कूटनीतिसँगै धार्मिक भ्रमण
मन्त्री श्रेष्ठले चीनमा समकक्षी वाङ यीसहित उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ । योसँगै उनी विभिन्न शहर पुग्ने र कैलाश मानसरोवरको भ्रमण समेत गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले पनि मानसरोवर भ्रमण गरिसकेका छन् भने चीनले श्रेष्ठलाई पनि त्यहाँ पु¥याउने भएको छ । यसको अर्थ चीनले धर्मसँग पनि वामपन्थीहरुलाई जोड्ने प्रयास गरेको अर्थमा लिइएको छ ।
नेपालका कम्युनिष्टहरु धर्मबाट अलग छैनन् भन्ने वुझाईमा रहेको चीनले धर्मको बाटो पनि खोजिरहेको छ । यसरी चीनले चौतर्फी ढंगले नेपालका वामपन्थी नेताहरुलाई दबाबमा राख्ने र वाम शक्ति निर्माणमा प्रभावकारी हस्तक्षेप गर्ने रणनीति अख्तियार गरिरहेको विश्लेषण सतहमा छ ।
