News 24 Television
प्रचण्डको आत्मालोचना र ओलीको दृष्टि

काठमाडौँ । एमाले–माओवादी केन्द्रसहितको गठबन्धनले विश्वासको मत मात्रै लिएर प्रदेश सरकारबारे निर्णय गर्ने प्रक्रियालाई थालनी गर्ने योजना बनाइरहेका बेला नेताहरुले विभिन्न टिप्पणी गर्न थालेका छन् । गठबन्धन किन भत्कियो र किन बन्यो भन्ने प्रश्नका अनेक जवाफमा नम्र बन्न आग्रह गरेका केपी ओली र उनको दलले नयाँ घटनाक्रम विकास त गर्दैन् ? शंका   छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सरकारको नेतृत्व गरिरहेका छन् । सत्ताको नेतृत्व गरिरहेका प्रचण्डले कांग्रेससहितको गठबन्धन भत्काएर एमाले रोजेपनि उनी एमालेसँगको गठबन्धनमा हुनुलाई थुप्रै कोणबाट ब्याख्या गरिरहेका छन् । यस्तो ब्याख्या चलेकै बेला एमाले अध्यक्ष केपी ओलीले सत्ता र सरकारबारे नकारात्मक नबोल्न र नम्र बन्न आफ्ना कार्यकर्तालाई निर्देशन नै दिँदै आएका छन् । 

ओलीले अहिलेको गठबन्धन बन्नुमा प्रचण्ड र आफ्नोबाहेकको भूमिका नभएको दाबी गर्दै आएका छन्। विदेशीले सत्ता गठबन्धन फेरे भन्ने विषयमा विमति राख्दै आएका ओली खुब लचक बने पनि उनका नेता कार्यकर्ताहरु भने सन्तुलित बन्न सकेको देखिन्न । संसदमै उभिएर ओलीले प्रचण्डलाई धन्यवाद मात्रै दिएका थिएनन्, हामी दुई भाईले गठबन्धन बनायौं भन्दै गर्व गरेका थिए । 

गठबन्धनले गति लिन थालेपछि प्रदेश सरकारहरु पनि फेरिने बाटोमा लागेका छन् । मन्त्री बर्खास्तीदेखि नयाँ थपको क्रम चलेको बेला एमाले महासचिव शंकर पोखरेलले भने यो गठबन्धन वाम गठबन्धन नभएको दाबी गर्दै प्रचण्डले नेकपा कालमा भएको घटनामा आत्मआलोचना गरेपछि मात्रै नयाँ ढंगले अघि बढेको दाबी गरेका छन् । 

पोखरेललाई उपचुनावबाट सांसद बनाउन प्रचण्ड–ओलीले गरेको प्रयासमा अहिलेकी सञ्चारमन्त्री रेखा शर्माले नमानेपछि स्थिति फेरिएको थियो । सांसद बन्न नपाएपछि शक्तिशाली महासचिव अहिले संसदीय भूमिकामा छैनन् । तर, उनी सशक्त ढंगले पेश हुने गरेका पाइन्छन् । यस्तोमा पोखरेलले दिएको अभिव्यक्तिले कतै गठबन्धनलाई असर त पार्दैन ? शंका भने गर्न थालिएको छ । 

ओली नम्र बन्नु र गठबन्धनबारे जथाभावी नबोल्नू भन्ने तर, नेताहरुले प्रचण्डलाई बिच्क्याउने काम गर्नाले समस्या आउने त होइन ? आशंका भने छ । केही दिन अघि एमाले–कांग्रेस मिल्ने हल्ला चलेपछि प्रचण्ड स्वयंमले संसदको रोष्टमबाटै कांग्रेसलाई चुनौति दिँदै एमालेसँग मिलेर देखाउन भनेका थिए । 

नेकपाकालको विवाद के हो ?

तत्कालीन नेकपामा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीचको शक्ति संघर्षले उग्र रुप लिएपछि ओलीले संसद विघटन गरिदिए । दुई–दुई पटक संसद विघटन गरेपछि नेकपा विभाजन भयो । त्योभन्दा पहिले ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री र कार्यकारी अध्यक्षको विवाद चलेको थियो । यस्तो विवाद चल्दै गर्दा प्रचण्डले बमबार्ड द हेडक्वाटर भन्दै ओलीलाई विभिन्न आरोपसहितको १९ बुँदे गम्भीर आक्षेप लगाएपछि उनीहरुबीचको तिक्तता थप चुलिएको थियो । 

त्यसपछि ओलीलाई सत्ताच्यूत गर्न प्रचण्ड–माधव नेपालले ठूलो भूमिका खेलेका थिए । प्रचण्डले लगाएको आरोपमा क्रोधित बनेका ओलीले पछिसम्म पनि दुख मनाउ गर्ने गरेका थिए । 

 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update