News 24 Television
इलाम– २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ । नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई सो निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचनन क्षेत्र खाली थियो ।

सोही निर्वाचनमा क्षेत्रमा एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कानून व्यवसायीमा रुपमा लागेको सुहाङले यसअघि नै निर्वाचनका लागि आफ्नो गतिविधिलाई अघि बढाइसकेका थिए । 

त्यसैगरी बैठकले बझाङ प्रदेश १ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले ऐन महरलाई पार्टी केन्द्रिय सदस्यमा मनोनित पनि गरेको छ । उनले पार्टीमा सक्रिय भएर इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाएकाले पुन केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय गरिएको उपमहासचिव ज्ञवालीले बताए ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update