काठमाडौँ । संघीय राजधानी काठमाडौँको पनि राजधानी मानिने दरबारमार्ग र सँगै रहेको ठमेल क्षेत्र अब २४सै घण्टा खुला रहने भएको छ ।
नेपालको पुरानो र प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गमा अहिले पनि रात्रि जीवनको झिलिमिझी देख्न सकिन्छ । विविध महत्त्वका पसल, क्याफे, मल, होटल, क्यासिनो लगायत पर्यटकीय कम्पनीहरू रहेको र देशी–विदेशी पर्यटकको दिनरात चहलपहल भइरहने यो क्षेत्र अब औपचारिक रुपमै २४सै घण्टा झलमल्ल जागा रहने भएको हो । उसै पनि यहाँको रात्रि जीवन एकदमै रमाइलो मानिन्छ, अनौपचारिक रुपमा ठमेल रातदिन खुल्लै हुन्थ्यो ।
गत बुधबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल क्षेत्रलाई २४ घण्टा खुला छाडेर थप चम्काउन निर्देशन दिएका थिए । सोही अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले त्यस क्षेत्रको सुरक्षा लगायत अन्य व्यवस्थापनको जिम्मेवारी लिइसकेको छ । सोमबार जिल्ला प्रशासन काठमाडौँमा यससम्बन्धी बैठक बसेर सबै निकायहरु र व्यवसायीहरुसँग छलफल गरिएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बोलाएको उक्त बैठकमा ठमेल–दरबारमार्गमा २४ सै घण्टा व्यापार–व्यवसाय सञ्चालन गर्ने सम्बन्धी छलफल भएको हो । रात्रि व्यवसाय सञ्चालनका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना समेत बनाइसकेको जनाएको छ ।
प्रजिअ बस्नेतले सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या तथा प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने बताएका छन् । उनले व्यापार व्यवसाय सञ्चालनका लागि व्यवसायी र स्थानीयबासी सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएकै समितिलाई जिम्मेवारी दिइने बताए ।
ग्राहक नठगिउन् भन्नका लागि त्यस क्षेत्रका व्यवसायीहरुले वस्तु तथा सेवामा दिँउसो र रातिको मूल्य फरक बनाउन नपाउने उनको भनाइ छ । रात्रि व्यवसाय सञ्चालन गर्दा सेवाग्राही र पर्यटकीय चहलपहल बढ्ने र त्यससँगै आपराधिक क्रियाकलाप समेत बढ्ने हुँदा सुरक्षा प्रणाली मजबुत बनाइने उनले बताए ।
बैठकपछि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएको बताए । सुरक्षा परिषद् र जिल्ला प्रशासन कार्यालयले परिमार्जन गरी ठमेल र दरबार मार्गलाई सुरक्षित र व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सोमबार छलफल भएको बताए । व्यवसायी र अन्य क्षेत्रले दिएका सुझावहरुको आधारमा आगामी तीन दिनभित्र यो विषय टुङ्गो लगाउने र अबको एक हप्ताभित्र यहाँको रात्रि व्यवसाय सुरु हुन सक्ने उनको भनाइ छ ।
दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४सै घण्टा खुला गर्न हरेक हिसाबले उपयुक्त रहेको बताए । दरबार मार्गलाई २४ सै घण्टा खुलागरी ‘नाइट वाक क्षेत्र’ बनाउन आवश्यक रहेको र यसका लागि पनि तयारी थालिने उनले बताए । ७० मिटरको क्षेत्रफलमा सबै संरचना तयारी अवस्थामा रहेकाले सरकारले तत्काल २४सै घण्टा खुला गर्दा कुनै समस्या नपर्ने उनको भनाइ छ ।
ठमेल र दरबारमार्गको बजार क्षेत्र रातदिन खुला राख्ने विगतदेखिकै माग भए पनि अहिलेसम्म यो विषय कार्यान्वयनमा ल्याउन सकिएको थिएन । अहिले गृहमन्त्री रविको पहलकदमीमा ठमेल र दरबारमार्गलाई २४ घण्टा खुला राख्न सबै तातिएका छन् । यस क्षेत्रको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई भविष्यमा क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको गृहमन्त्रीको सचिवालयको दाबी छ ।