काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीलाई बयान लिइएको विषयमा संसदीय समितिमा गृहमन्त्रीदेखि प्रहरीले समेत आफ्नो प्रतिरक्षा गरेको छ ।
विनोद चौधरीको बयान लिएपछि तरङ्गित राजनीति र सांसदको प्रश्नमा गृह प्रशासन र प्रहरीले दृढ जवाफ पेश गरेपनि यसबारे थप अन्योलता भने कायमै छ ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा अनियमितता प्रकरण चर्चामा छ । नेपालको ठूलो व्यवसायीक घरानाले सरकारी सम्पत्ति हडेपेको आरोप लागेपछि कांग्रेस यो प्रकरणले तरङ्गित बनिरहेको छ ।
कांग्रेसले आफ्नो पार्टीका सांसद विनोद चौधरीलाई बयानका लागि सरकारी वकिलको कार्यालय उपस्थित गराइएपछि यो विषयमा सवालजवाफ नै चल्न थालेको छ । तर, बयान दिएपछि विनोद चौधरीले निजी क्षेत्रको सहारा लिदै धम्कीपूर्ण अभिव्यक्ति र घुमाउँरो पारामा उनीमाथि अनुसन्धान नै गर्न नमिल्ने आशयको वक्तव्य दिए । तर बयान लिएपछि चौधरी परिवार बाँसबारी प्रकरणमा तरङ्गित बनिरहेको तथ्य छिप्न सकेको छैन ।
बयान दिएपछि विश्व समुदायमा नकारात्मक प्रभाव पर्नेदेखि लगानी सम्मेलन नै प्रभावित हुने धम्कीसहित चौधरी परिवार आक्रोशित बनिरहेको छ । यस्तोमा संसदीय समितिमा विनोद चौधरीलाई बयान लिने विषयमा प्रश्न मात्रै उठेन्, उनी भागेर जाने व्यक्ति हुन ? विनोद चौधरीको पासपोर्ट नै जफत गर्ने तयारी छ ? लगायतका प्रश्नहरु तेर्सिए ।
यस्तो प्रश्न उठेपछि गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको जानकारी दिए ।
बाँसबारीको जग्गा सरकारको नाममा आइसकेको दाबी गरिएपनि यो प्रकरणमा अरुण चौधरी अदालत पुगेका छन् । तर, विनोद चौधरीमाथि बयान लिने विषयबारे सभामुख देवराज घिमिरेलाई दिइएको जानकारीको प्रशंगमा भने प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरले प्रहरीले पक्राउ गरी बयान गराउँदा सांसद विनोद चौधरीको व्यक्तिगत स्वतन्त्रतामा अतिक्रमण हुने ठानेर प्रहरी अतिरिक्त सचेत बन्दै संसदलाई पत्र पठाएको भन्दै स्पष्ट पारे ।
प्रहरीले जस्तै गृहमन्त्री रवि लामिछानेले पनि पक्राउ गरेर बयान लिनुभन्दा सरकारी वकिलको कार्यालयमा बोलाएर बयान लिने भन्ने निष्कर्षमा पुगेपनि सहजीकरण गरेरै काम गरिएको दाबी गरे ।
विनोद चौधरीको बयानका साथै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे समेत स्पष्टीकरण दिइएको छ । महराको पक्षमा प्रतिवाद गर्ने गरि खास आवाज नउठेपनि गृहमन्त्री लामिछानेले उनलाई कमजोर स्वास्थ्यका कारण हाजिरी जमानीमा छाडिएको दाबी गरे ।
पीएसओ र गाडी छाडेर भाग्न खोजेको आरोप गृहले फेरि लगाएको छ । तर, यो विषयमा महराले भने आफूविरुद्ध षडयन्त्र गर्न खोजिएको अर्थमा बुझेको बताएका छन् ।
