News 24 Television
विद्यादेवी भण्डारीदेखि सुवास नेम्वाङ पुत्र सुहाङसम्म, विरासतको राजनीतिको फेरो समात्नेहरु

काठमाडौं । नेपाली राजनीतिमा दुखान्तलाई शक्तिमा परिणत गर्ने राजनीतिक परिपाटी बलियो बन्दै गइरहेको छ । तर, लोकतन्त्रलाई सबलीकरण गर्न योग्य र अनुभवीलाई स्थान दिनुपर्ने राजनीतिले विरासतको बाटोलाई पछ्याउदा यसमा अनेक प्रश्नहरु उठ्ने गरेका छन् । 

विरासतको राजनीतिले लोकतन्त्र र राजनीतिक मुद्दा स्थापित गराउने भन्दा पनि सहानुभूतिको मत संकलन गर्ने र सत्ताको स्वाद चाख्नेबाहेक हुन कठिन देखिन्छ । 

सामाजिक सञ्जालमा अहिले एउटा हस्तलिखित चिर्कटो भाइरल भइरहेको छ । कवि अर्जुन पराजुलीले लेखेको सहिदसम्बन्धिको कविता धेरैको नजरमा परेको छ । यसको एउटै कारण हो, विरासतको राजनीति । 

राजनीति विरासतबाटै सहजै पाइने भन्दै व्यङ्ग्य कसिएको कवितामा सहीदका बारे गम्भीर विषय उठाइएको छ । नेताका छोराछोरी वा आफन्त विरासतको राजनीतिमा फर्किन पाएपनि सहीदका आफन्त यस्तो मौका पाउनबाट चुक्ने र उनीहरुको स्थान सहीद नै बन्ने गरि खाली हुने भन्दै लेखिएको कविताले वास्तविकता पनि बोलेको छ । 

यसर्थ यो कविता अहिले चर्चामा छ ।

विरासतको राजनीतिमा को–को ?

१. विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उनका पति मदन भण्डारीको निधनपछि राजनीतिको फेन्ट लाइनमा आइन् । एमालेले भण्डारीलाई मन्त्री बनाएको थियो । उनी मन्त्री मात्रै बनिन्, उनले दुई कार्यकाल राष्ट्रपति पद नै सम्हालिन । 

राष्ट्रपतिबाट बिदा भएपछि उनी एमालेको नेतृत्वमा आउने चर्चा समेत चल्ने गरेको छ । तर, यो विषयमा एमाले अध्यक्ष केपी ओलीले प्रतिवाद गर्ने गरेका छन् ।

२. विद्या भट्टराई 

तत्कालीन पर्यटनमन्त्री रहेको बेला नै रविन्द्र अधिकारीको निधनपछि रविन्द्रकी पत्नी विद्या उपचुनावमार्फत राजनीतिक पुनः सक्रिय बनिन् । भट्टराई अहिले पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । प्राध्यापन छाडेर पतिको निधनपछि उनी सक्रिय राजनीतिमा छिन् ।

३. बीना मगर

राजनीतिमै सक्रिय रहेपनि उनले निर्वाचन जित्ने पर्याप्त आधार थिएन् । तर, सोहिबेला पति प्रकाश दाहालको निधन भएपछि उनले निर्वाचन जितिन र मन्त्री समेत बनिन् । 

विद्यार्थी राजनीतिमा समेत चर्चित बनेकी बीना अहिले सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको सह–इन्चार्ज तोकिएकी छन् । उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारकी सदस्य हुन् । प्रकाशको निधन भएपनि उनका एक छोरा छन् ।

४. सुहाङ नेम्वाङ 

शालिन व्यक्तिको छवी बनाएका संविधानसभाका अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधनपछि इलाममा हुन लागेको उपचुनावमा उनका छोरा सुहाङ नेम्वाङलाई एमालेले अघि सारेको छ । 

सुहाङ कानून व्यवसायमा रहेको र खेल क्षेत्रमा समेत सक्रिय रहेको बताइन्छ । सुहाङलाई उम्मेदवार बनाउने प्रयास विभिन्न दलले गरेपनि एमालेले नै उनलाई उम्मेदवार बनाएको छ ।

५. विमला कुमारी खत्री वली

लुम्बिनी प्रदेश सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा ज्यान गुमेपछि तत्कालीन नेकपाले उनकी पत्नीलाई उपचुनावमार्फत उम्मेदवार बनायो । 

उनी लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित भएपछि उनी नेकपा विभाजनको बेला थप विवादीत मात्रै बनिनन्, एमाले–माओवादीबीच खोसाखोस नै चल्यो । अन्ततः उनले माओवादि केन्द्र रोजिन् । अहिले उनी राजनीतिमा सक्रिय छिन वा छैनिन भन्ने नै अन्योलमा छ । 

यसरी नेपालको राजनीतिमा थुप्रै पात्रहरुले राजनीतिक यात्रा तय गरेका छन् । 

राजनीतिक रुपमा उनीहरुको सक्रियता भन्दा पनि विरासत अर्थात परिवारको सदस्य र उसको प्रभावलाई केन्द्रमा राखेर गरिने निर्णयले राजनीतिक रुपमा स्थिति कमजोर बन्ने र थिति नबस्ने आवाज उठिरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update