News 24 Television
जीबी राईलाई समात्न नसक्नुको कारण यस्तो, आईजीपी पनि रविको बचाउमा 

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । बुधबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले उक्त सहकारी ठगीका मुख्य नाइके सहकारीकै संस्थापक अध्यक्ष जीबी राई भएको र उनी हाल मलेसियामा लुकेर बसेको बताए । 

उक्त सहकारी ठगी प्रकरणमा गृहमन्त्री रविको संलग्नता रहेको कुनै प्रमाण फेला नपरेको समेत उनले बताए । सहकारीको विषयमा रविविरुद्ध ठाडो उजुरी आएको तर प्रारम्भिक अनुसन्धान गर्दा उनी संलग्न रहेको कुनै प्रमाण फेला नपरेको आईजीपीले बताए । अनुसन्धान गर्दा कुनै पनि तथ्य प्रमाण नभेटिएकाले रवि कानुनी दायरामा पर्ने अवस्था समेत नरहेको उनको भनाइ थियो । 

आईजीपी कुँवरले सहकारीको करोडौँ रकम हिनामिना गरेर फरार रहेका जीबी राईको सन्दर्भमा भने प्रहरी संवेदनशील रहेको बताएका छन् ।  जीबी हाल मलेसियामा रहेको र सुपुर्दगी सन्धि नभएका कारण उनलाई तत्कालै पक्राउ गरेर ल्याउन कठिन भएको उनले बताए । जीबी विरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भइसकेको भए पनि मलेसियासँग नेपालको सपुर्दगी सन्धि नभएकाले समस्या भएको उनको भनाइ छ । 

मलेसिया सरकारले सुपुर्दगी अनुरोधका रुपमा पत्र पठाउन भनेपछि परराष्ट्र मन्त्रालयमार्फत पत्र पनि पठाइसकेको कुँवरले जानकारी दिए । पत्र मलेसिया सरकारसम्म पुग्दा पनि त्यहाँको सरकारले जीबीलाई डिपोर्ट गरी नेपाल पठाउन बाध्य नभएको उनले बताए । मलेसियास्थित नेपाली दूतावासमार्फत पहल जारी राखेकोले राई छिटै पक्राउ पर्ने उनको विश्वास छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने पनि जोडिएको भन्दै उनको राजीनामा माग गर्दै आएको छ । साथै संसदीय छानबिन समिति गठन गरेर निष्पक्ष छानबिनको माग गरेको छ । बुधबारकोे राज्य व्यवस्था तथा सुशासन समितिमा पनि काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानबिन गर्नका लागि गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताए । 

उनले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्रीको पनि नाम जोडिएको भन्दै छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिक रुपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए । उक्त सहकारीबाट ग्यालेक्सी टेलिभिजनमा १० करोड रुपैयाँ आएको र त्यसमध्ये १ करोड रुपैयाँ लामिछानेको नाममा जम्मा भएको देखिएको भन्दै उनले यसै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

कांग्रेसले लगातार आफ्नो राजीनामा मागेर हैरानै बनाएपछि गृहमन्त्री लामिछानेले स्वयं पनि स्पष्टीकरण दिँदै हिँडेका छन् । उनले बुधबारको संसदीय समितिमा पनि सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको भन्दै स्पष्टीकरण दिएका छन् । 

कांग्रेस सांसद बडूलाई जवाफ दिँदै गृमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम बाहेक अरु केही नभएको बताए । उनले न त आफूले ऋण लिन निवेदन दिएको, न केवाईसी भरेको, न त ल्याप्चे नै लगाएको भन्दै आफ्नो संलग्नताको प्रमाण नै नभएको जिकिर गरे । सहकारी प्रकरणको मुद्दा अदालतमा दर्ता भएको थाहा पाएको भन्दै उनले त्यस मुद्दामा पनि आफू प्रतिवादी नरहेको प्रस्ट पारे ।

सूर्यदर्शन सहकारी ठगीको उजुरीमा प्रहरीले हालसम्म ५ जनालाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामा राखेको छ । मुख्य सञ्चालक एवं गिरोहका नाइके जीबी राईसहित १४ जना प्रतिवादी फरार छन् । विभिन्न सहकारी सञ्चालन गर्दै ती सहकारीबाट अवैध रुपमा मिडियादेखि घरजग्गा र अन्य उद्योगधन्दासम्म लगानी गराउने गिरोहका नाइके जीबी नै सबै समस्याको जड रहेको प्रहरीको निष्कर्ष छ । उनी पक्राउ पर्न नसक्दा उक्त सहकारी प्रकरणको अनुसन्धानले गति लिन सकेको छैन भने पीडित बचतकर्ताहरुको बिचल्ली छ । 

जीबी राई सञ्चालक रहेको ग्यालेक्सी टिभीसँग हालका गृहमन्त्री लामिछाने पनि जोडिएपछि र उनको नामबाट समेत शेयर कारोबार भएको पाइएपछि उनको नाम समेत मुछिएको छ । तर अहिलेसम्म ठगीमा लामिछानेको कुनै संलग्नता नरहेको भन्दै प्रधानमन्त्रीदेखि आईजीपीसम्मले बचाउ गर्दै आएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update