News 24 Television
प्रचण्डमाथि बैठकमै खनिए जनार्दन, साँचो बोले पो पत्याउनु भन्दै अविश्वास

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग दूरी बढाउदै लगेका छन् । बालुवाटारमा चलेको पदाधिकारी बैठकमा उपचुनाव र प्रदेशको भागबण्डाबारे भएको छलफलमा जनार्दनले कर्णालीको विषयलाई लिएर कडा विमति मात्रै राखेनन्, उनले प्रचण्डले सहि कुरा नभन्ने भन्दै अविश्वास समेत गरे । 

नेकपा माओवादी केन्द्रले बैशाख १५ गतेका लागि तय उपचुनावमा आफ्नो पार्टीबाटै उम्मेदवार उठाउने निर्णय गरेको छ । माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ इलाम र प्रदेससभातर्फ बझाङमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । 

सिफासिस आउनेक्रम जारी रहेको भन्दै प्रवक्ताले प्रदेशको भागबण्डाबारे भने खास कुरा बताएनन् । तर, बालुवाटारमा सत्ता गठबन्धन दलको बैठकमा प्रचण्डले लगभग भागबण्डामा सहमति जनाइसकेको दाबी गरिन्छ । भागबण्डा मिलेकै कारण पनि हुनसक्छ एमाले नेताहरु पनि प्रदेश सरकारहरु केन्द्रको समिकरण अनुसार अघि बढ्ने दाबी गरिरहेका छन् । 

प्रदेश सरकारको भागबण्डामा कर्णाली प्रदेशको नेतृत्व एमालेलाई दिने गरि प्रधानमन्त्री प्रचण्डले सहमति दिएपछि जनार्दन शर्माले भने बैठकमै आक्रोश पोखेका छन् । कर्णालीमा राजकुमार शर्मा मुख्यमन्त्री छन् । शर्मा नेतृत्वको सरकारमाथि विभिन्न प्रश्न उठेपनि जनार्दनले कर्णालीको अवस्थिति, माओवादीको जनाधार लगायत विषय देखाउदै धम्कीपूर्ण भाषामै छाड्न नसकिने दाबी गरेको बताइन्छ । 

प्रचण्ड–जनार्दन विवाद

पार्टी महासचिव बन्ने सोचमा रहेका जनार्दन शर्मालाई प्रचण्डले अन्तिममा आएर उपमहासचिव बनाए । वर्षमान पुन वा आफूमध्ये जसलाई महासचिव बनाएपनि हुने भनेका जनार्दन वर्षमानलाई लडाएरै शक्तिको अभ्यास गरिरहने प्रचण्डले देव गुरुङलाई महासचिव बनाए । अप्ठ्यारोमा पार्टी छाड्नेलाई महासचिव बनाएको भन्दै जनार्दनले विरोध नै गरे । 

विरोधमात्रै नभएर उनले विद्यार्थी संगठनको कार्यक्रममै उपमहासचिव पद अस्वीकार गर्ने शैलीमा जवाफ समेत फर्काए । यसले पनि विवादको विषय लम्बेतान बनेको थियो । तर, उनीहरुबीचको विवाद यतिमा भने रोकिएको छैन् ।

गएको विधान महाधिवेसनमा समेत उनीहरुबीचको विवाद थप उत्कष्टमा पुग्यो । जनार्दनले फरक मत राख्दै कार्यविभाजनदेखि थुप्रै विषयमा विमति जनाए । यस्तो विमतिले प्रचण्ड क्रुद्ध बनिरहेकै बेला जनार्दन एकपछि अर्को गर्दै विवाद झिक्न लागिपरेका छन् । 

पार्टीले प्रदेश इन्चार्ज तोक्ने विषयमा समेत जनार्दन र उनी निकटका लेखराज भट्टलाई जिम्मेवारीबिहीनताको अवस्थामा पु¥याएको ठानेका उनी थप आक्रोशित छन् । खगराजलाई सुदूरपश्चिमको इन्चार्ज र संसदीय दलको नेताबाट हटाएको लगायत विषयमा समेत असन्तुष्टी छताछुल्ल बनेको थियो । 

यसरी असन्तुष्ट जनार्दनले पदाधिकारी बैठकमा कर्णाली सरकारको नेतृत्व छाड्न नसकिने र मान्य पनि नहुने जवाफ दिएको बताइन्छ । जनार्दनको आक्रोशमा प्रचण्डले छलफल चलिरहेको र निर्णय नभएको जवाफ फर्काएपनि उनले विश्वास गर्न नसकिने र अध्यक्षले सहि कुरा नभन्ने भन्दै आक्रोश पोखेपछि बैठकमै सन्नाटा छाएको बताइन्छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update