News 24 Television
इलाम– २ : विभाजित वाम गठबन्धन, फाइदामा काँग्रेस ! 

काठमाडौँ ।  इलाम २ को उप निर्वाचनमा सत्ता समीकरणबाट साझा उम्मेदवार हुने सम्भावना न्यून छ । रास्वपाले  मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सरकारमा रहेका रास्वपा बाहेकका बाम शक्ति पनि साझा उम्मेदवार भन्दा एक्लाएक्लै चुनावमा होमिन खोज्दा एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई सकस र काँग्रेसलाई फाइदा पुग्ने देखिएको छ । 

वैशाख १५ मा हुँदै गरेको उप निर्वाचनमा इलाम २ मा एमालेले सुहाङ नेम्वाङलाई अघि सार्दै अन्य दललाई सहयोगको लागि अपिल गर्यो ।

तर, एमालेको सहयोगको आग्रहलाई न त माओवादीले स्वीकार गर्यो न त रास्वपाले । रास्वपाले इलाम २ मा मित्रवत प्रतिस्पर्धा गर्ने बताइसकेको छ । माओवादी केन्द्रले पनि आफ्नो उम्मेदवार उठाउने तयारी गरेको छ । 

इलाम दुईमा माओवादी निर्णायक शक्ति मानिएको छ । आम निर्वाचन २०७९ को समानुपातिक तर्फको मत परिणामले पनि त्यही संकेत गर्छ । २०७९ को चुनावमा इलाम २ मा नेपाली काँग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी दलको रुपमा रहेका छन् । पार्टीगत रुपमा एमाले इलाम २ मा पहिलो शक्ति हो । उसले गत निर्वाचनमा २६,५६२ मत प्राप्त गरेको थियो । 

दोस्रोमा रहेको नेपाली काँग्रेसको २२,३३३ मत प्राप्त गर्दा माओवादीले इलाम २ मा ५,१५३ मत प्राप्त गर्यो । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४,६८६ मत प्राप्त गरेको थियो । त्यस्तै, नेकपा एकीकृत समाजवादीको मत ५८६ छ । 

गत निर्वाचनमा प्रत्यक्षतर्फ एमाले उम्मेदवार सुवास नेम्वाङले काँग्रेस उम्मेदवार डम्वरबहादुर खड्कालाई मात्र ११४ मतले पराजित गरेका थिए । त्यस बेला एमाले विरुद्ध माओवादी, काँग्रेस र एकीकृत समाजवादीको गठबन्धन नै थियो । तर पनि नेकपा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका थिए । जसमा सुवास नेम्वाङको व्यक्तित्वले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । 

तर, अहिले सुवास नेम्वाङका छोरो सुहाङलाई सुवास कै हाराहारीमा मत प्राप्त हुन्छ वा हुँदैन भन्न कठिन छ । 

माओवादी र एकीकृत समाजवादीले एमालेलाई सहयोग गर्दा सुहाङलाई केही सहज हुने भए पनि अब माओवादी पनि आफ्नै उम्मेदवार नै उठाउन तम्सिए पछि त्यसले काँग्रेसलाई सहज हुने भएको छ । 

उता, चितवन र तनहुँमा भएको पछिल्लो उप निर्वाचनको रास्वपाको पक्षमा देखिएको मत परिणामले भने एमाले र काँग्रेस दुबैका उम्मेदवारलाई चुनौती थपिदिएको छ । तनहुँमा काँग्रेसको किल्ला भत्काउँदै स्वर्णिम वाग्ले विजय भएको धेरै भएको छैन । त्यसकारण, इलाममा रास्वपाको भूमिका पनि महत्वपूर्ण देखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update