News 24 Television
दलहरुसँग सिंगौरी खेल्दै हर्क, इलाम – २ मा रास्वपा हराउन बुन्दैछन् जाल !

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले आगामी उपनिर्वाचनमा दलहरुलाई मत बहिस्कार गर्दै पहिचानवादीहरुलाई समर्थन गर्न उर्दी जारी गरिरहेका छन्  । 

स्वतन्त्रबाट निर्वाचित हर्कले पटक पटक सामाजिक संजाल र संचार माध्यमबाटै कुनैपनि दलहरुलाई मत नहाल्न इलाम – २ का मतदाताहरुलाई आग्रह गरिरहेका हुन् । 

निर्वाचन आयोगले आगामी बैशाख १५ गते उपनिर्वाचन गर्ने निधो गरिसकेको छ । यहीबीच यतिबेला इलाम – २ ले मुलुककै ध्यान खिचिरहेको छ । 

एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष स्वर्गिय सुवास नेम्वाङको क्षेत्र रहेकाले पनि यो उपनिर्वाचनले मुलुककै ध्यान खिचिरहेको हो । 

यही अवस्थामा स्वतन्त्रबाट निर्वाचित मेयर हर्कले भने सबै दलहरुलाई मत बहिस्कार गर्नुपर्ने अभिव्यक्ति दिइरहेका हुन् । 

इलाम – २ का लागि सत्ता पक्ष र प्रतिपक्षी दलहरुले समेत आ–आफ्नै उम्मेदवार खडा गरिसकेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाइसकेको छैन । यद्यपि ऊ एक्लै चुनावी मैदानमा उत्रने निश्चित छ ।  

काँग्रेसबाट अघिल्लो पटक नेम्वाङसँगै पराजित डम्बर खड्का उम्मेदवार बन्ने लगभग निश्चितजस्तै छ । 

उता नेकपा एमालेले स्वर्गिय सुवास नेम्वाङकै छोरा सुहाङलाई टिकट दिने निर्णय गरिसकेको छ ।

सत्ता गठबन्धनभित्रकै दल नेकपा एकीकृत समाजवादीले पनि आफ्नै उम्मेदवार तय गरिसकेको अवस्था छ । यता सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । 

खासगरी धरानका मेयर हर्कले मुख्य प्रतिस्पर्धी दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र रास्वपाप्रति लक्षित गर्दै मत बहिस्कार गर्नुपर्ने तर्क गरिरहेका हुन् । 

नेकपा एमालेका उम्मेदवार सुहाङलाई उनले जहानिय राणा शासनको प्रवृत्तिसँग जोडेर टिप्पणी गरिरहेका छन् । त्यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई अवसरवादी र अपरिपक्वता प्रवृत्तिसँग जोडेर आलोचनात्मक टिप्पणी गरिरहेका हुन् । 

उता नेपाली काँग्रेसलाई भने हर्कले खास टिप्पणी गरिसकेका छैनन् । तर उनले दलगत कुनै पनि उम्मेदवारलाई मत नदिन मतदाताहरुमा सन्देश पठाइरहेका छन् । यद्यपि उनले पहिचानवादीहरुको तर्फबाट उम्मेदवार बनेका डाकेन्द्र सिंह लिम्बूलाई भने सहयोग गर्न खुल्ला अपिल गरिरहेका छन् । 

पहिचानको मुद्धा उठाएर उम्मेदवार बनेका लिम्बूलाई संस्कृतिवादी उपनाम दिँदै उक्त पक्षलाई मत दिएर जिताउनसमे भनिरहेका हुन् ।

त्यस्तै हर्कले उपनिर्वाचनमा सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेका पत्रकार मिलन लिम्बूलाई  भने कसैगरी पराजित गराउनुपर्ने अभिव्यक्ति दिँदै आइरहेका छन् । 

हर्कले सुरुमा उनै लिम्बूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर यसको सर्त र स्वार्थ दलविहीन स्वतन्त्र उम्मेदवार बन्ने अवस्थाका लागि मात्रै थियो । 

मिलन र हर्कबीच केही हप्ताअघि भेटवार्तासमेत भयोे । तर त्यसको केही दिन नवित्दै मिलन एकाएक रास्वपा प्रवेश गरे । र, रास्वपाबाट उम्मेदवार बन्ने आकांक्षीको लिष्टमा मिलनले पनि आफ्नो नाम समावेश गरे । 

बिहीबार मात्रै मिलनलाई रास्वपाले आधिकारिक रुपमा उम्मेदवार घोषणा गरेको छ । रास्वपा प्रवेश गर्ने सुईको पाएदेखि नै हर्कले मिलनविरुद्धका अभिव्यक्ति दिन थालेका थिए । 

हर्कले अहिले रास्वपालाई पहिचान विरोधी पार्टीको रुपमा दर्ज गरिरहेका छन् । त्यसैले रास्वपालाई इलाममा जसरी हराउनुपर्ने बताइरहेका हुन् । 

रास्वपासँग हर्कको पुरानै रिसीइवी

स्थानीय तहको निर्वाचन पछि रवि लामिछानेले रास्वपा गठनको तयारीमा थिए । रास्वपा गठनकै पूर्वतयारी स्वरुप रवि धरान पुगे । 

सो क्रममा रवि र हर्कबीच सौहादतापूर्वक भेटवार्ता भएको थियो । यहाँसम्म रवि हर्क सम्बन्ध राम्रै थियो । तर पछिल्लो समय रास्वपा र हर्कबीचको समबन्ध सुमुधर देखिँदैन । 

हर्कप्रति रास्वापा सभापति रवि लामिछानेले कुनै टिप्पणी गरिएको नदेखिएपनि हर्कले रविप्रति खरो टिप्पणी गर्दै आएका छन् । 

आसन्न निर्वाचनलाई लक्षित गर्दै हर्कले रास्वपालाई पहिचान र संघियता विरोधी पार्टीको उपमा दिइरहेका छन् । 

उनले आफूजस्तै देशप्रेमी स्वतन्त्रहरुलाई सक्ने नियतले रास्वपा जन्माएको भन्दै रविमाथि पटक पटक आरोप लगाइरहेका छन् । उता टिकट निधो गरेका मिलन लिम्बूले भने रास्वपाले पहिचान र संघीयताप्रति प्रतिबद्धता जनाएपछि आफू उम्मेदलवार बनेको दावी गरेका छन् । 

यसअघि माआवादी निकट रहेका लिम्बूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । तर त्यसको केही समय नवित्दै उनी रास्वपा प्रवेश गरेका हुन् ।

यो सँगै मिलनको आलोचनासमेत भइरहेको छ । यही अवस्थामा धरानका मेयर हर्क पनि रास्वपालाई मुख्य निशाना बनाएर मिलनलाई हराउने योजना बुनिरहेका छन् । 

हर्कले पहिचानवादीका तर्फबाट साझा उम्मेदवार बनेका डाकेन्द्र सिंह लिम्बूलाई सहयोग गर्न केही दिन पछि इलाम नै जाने घोषणासमेत गरिसकेका छन् । 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update