News 24 Television
वामपन्थी एकतामा प्रचण्डको हतारो, ओलीको अर्थपूर्ण मौनता

काठमाडौँ । सत्ता समिकरण अदलबदल गर्दै आएका प्रधानमन्त्री प्रचण्ड फेरि वामपन्थी एकताको बहसमा उत्रिन थालेका छन् । एमालेसहितको समिकरण निर्माणपछि प्रधानमन्त्री प्रचण्डले समाजवादी कार्यभार पूरा गर्न वामपन्थी दलहरु मिल्नुपर्ने भन्दै एकताको वातावरण बनाउन लागि पर्न थालेका छन् । तर, के एमाले नेतृत्व तयार बन्ला ? 

सामान्य विवादमै टुटफुटमा पुगिहाल्ने कम्युनिष्ट दलहरु एकताको बहस गरेर थाक्दैनन् । उनीहरु जति फुटेपनि एकताको विषयमा बहस गरिरहने गर्छन् । तर, वामपन्थी एकता विषय लामो समयसम्म टिक्न भने सकेको देखिन्न । कुनैबेला एमाले–माओवादीको पार्टी एकताले थपेको उत्साह क्षणभरमै सकिएको अवस्था पनि छ । यस्तोमा के वामपन्थी दलहरु फेरि एकतामा जालान ? प्रश्न भने छ तर, पदको लागि समिकरण नबनाएको दाबी गरिरहेका प्रधानमन्त्री प्रचण्डले मुलुकलाई निकास दिनेमा आफू प्रतिबद्ध रहेको दाबा गरिरहेका छन् ।

२०७४ को चुनावमा वामपन्थी दलले प्राप्त गरेको हैसियत र त्यो विरासत जोगाउन नसकेकोमा दुखी देखिएका प्रचण्डले अब नयाँ ढंगले सोच्नुपर्ने बताएका छन् । गठबन्धन फेरेका प्रधानमन्त्री प्रचण्डले एमालेसहित वामपन्थी एकताको बाटोमा फर्किएको दाबी गरेका छन् । 

एमालेसहितको वामपन्थी एकताको विषयमा प्रचण्डले दाबी गरेपनि एमाले नेतृत्व यो विषयमा तयार छ त ? यो आम चासोको विषय बनिरहेको छ । एमाले नेतृत्व पनि माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले आत्मालोचना गरेपछि समिकरण सहज बनेको दाबी गरिरहेको स्थिति छ । 

वामपन्थी एकता वा सहकार्यको विषयमा एमाले अझैं पनि तयार भएको अवस्था भने देखिन्न । उपचुनावको विषयमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा समेत केपी ओलीले माओवादी र नेकपा एकीकृत समाजवादीले एमालेलाई समर्थन गर्नुपर्ने भन्दै कडा रुपमा पेश भएका छन् । माओवादीको मतलाई संख्यामा तोकेर बोल्दै ओलीले समर्थन गर्न नसकिने विषयलाई समेत उनले प्रष्टाएका छन् । 

एकाएक एकतामा पुगेका प्रचण्ड–ओली नजिकिएको अवस्था देखिएपनि उनीहरु फेरि एकतामै गइहाल्ने स्थिति भने बनेको देखिन्न । ओलीले अझैपनि माओवादी र नेकपा एसलाई सहज रुपमा लिन सकेको देखिन्न भने वामपन्थी एकताको नाममा जथाभावी नगरिने एमाले नेताहरुले दाबी गर्ने गरेका छन् । तर, उपचुनावको समिकरण र त्यसपछि सिर्जित स्थितिले भने यी दल र नेताहरुलाई नजिक ल्याउने वा टाढा राख्ने विषयमा महत्व राख्नेछ । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update