News 24 Television
केपी रणनीतिमा रवि चुनौति, गठबन्धनमा भीडन्त पक्का 

काठमाडौँ । इलाम र बझाङको उपचुनावको रौनक शुरु भएको छ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा शीर्ष नेताहरुको लर्को मात्रै लागेको छैन्, उनीहरुले निर्वाचन आफ्नो दलले जित्ने दाबी गरिरहेका छन् । बैशाख १५ गतेका लागि उपचुनावको मिति तोकिएको छ ।

उपचुनावका लागि दलहरुले सक्रियता समेत बढाएका छन् । यस्तोमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा सक्रियता मात्रै बढाएका छैनन्, उनीहरुले निर्वाचन नतिजा आफ्नो पक्षमा पार्ने दाबी समेत गरिरहेका छन् । 

इलामको उपचुनावबाट दलहरुको अवस्थिति समेत थाहा हुने देखिन्छ । अहिले सबै दलहरु एकल रुपमै निर्वाचनमा जाने देखिएकाले पनि उनीहरुको शक्ति प्रदर्शनको रुपमा यसलाई लिइएको छ । इलाममा उम्मेदवार घोषणाका लागि पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाममा बिजयी जुलुस निकाल्ने भन्दै चुनाव जित्ने दाबी गरेका छन् । 

रास्वपाले इलामको उपचुनाव जित्ने दाबी गरेपनि एमालेले यसअघि गठबन्धनको घेराबन्दीमा समेत जितेको क्षेत्रलाई सुवास नेम्वाङसँगै जोडेर जित्ने प्रयास गरेको छ । एमालेले सुवासका छोरा सुहाङलाई चुनावी मैदानमा उतारेको छ भने, इलाम र बझाङ दुबै क्षेत्रमा चुनाव एमालेले जित्ने दाबी एमाले अध्यक्ष केपी ओलीको छ । 

अन्य दल अझै अन्योलमै

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस उम्मेदवार टुंगो लगाउने विषयमै अड्किएको छ भने सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र पनि अलमलमै छ । यस्तै, नेकपा एकीकृत समाजवादी पनि उम्मेदवारबारे निर्णय लिइसकेको अवस्थामा छैन् । बझाङ र इलामको चुनावलाई सत्ता गठबन्धनभित्र रणनीतिक रुपमा  मिलाप खोज्ने प्रयासमा माओवादी र नेकपा एस देखिन्छन् भने कांग्रेस उम्मदवारको टुंगो लगाउने अन्तिम तयारीमा छ । यस्तोमा एमाले रास्वपाले भने चुनावी अभियान नै शुरु गरिसकेका छन् । 

कांग्रेसको गम्भीर अलमल

चुनावी गठबन्धन नगर्ने भन्दै कुर्लिएको शेखर कोइराला र गगन थापा पक्षधर नेताहरु इलाम र बझाङ उपचुनावबारे खास प्रतिक्रिया दिने अवस्थामा पुगेको देखिन्न । चुनावी गठबन्धन भनेर सत्ता गठबन्धनमा दरार सिर्जना गराएका उनीहरुमध्ये शेखर कोइरालाले अहिले पनि कोशी सरकार माओवादीलाई नदिने काममा आफ्नो संलग्नता भएको भन्दै खुशी व्यक्त गरिरहेका छन् । 

कोइराला जस्तै चुनावमा कांग्रेस आफ्नै बलले कुद्ने दाबी गरेका कांग्रेस महामन्त्री गगन थापा पनि संवाद अभियानमा जुटेका छन् । उनले कांग्रेसलाई इलाम र बझाङको चुनाव केन्द्रित पार्नेदेखि एकल उम्मेदवारीमा जाँदा कांग्रेसको अवस्थिति कस्तो हुने भन्नेबारे छलफल मै सहभागी भएको देखिन्न । यसले कांग्रेसको आन्तरिक अन्तरविरोध सत्ता नेतृत्व र पार्टी नेतृत्वको कब्जा केन्द्रित बनेको धेरैले आशंका गर्न थालेका छन् । यस्तो अवस्थाले कांग्रेस बौरिन सक्ला ? प्रश्न भने पेचिलो बनेको छ । 

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update