News 24 Television
कांग्रेसको चलेन डेग, गगन चकटीमै सीमित !

काठमाडौँ । निर्वाचनमा गठबन्धन गर्न नहुने भन्दै अथाह शक्ति खर्च गरेका कांग्रेस नेताहरु उपचुनावको समयमा भने सुस्त देखिएका छन् । अन्य दलहरु चुनावी मैदानमा होमिएका समय कांग्रेसले उम्मेदवार छान्न समेत सकेको छैन । कांग्रेस महामन्त्री गगन थापाले चुनावी गठबन्धनका कारण मत घटेको प्रतिवेदन ल्याउएर चर्चा त कमाए तर, अहिले उनी उपचुनावमा कांग्रेसलाई एक्लै उभ्याउने संकल्प गर्न किन पार्टी सभापतिलाई कुरिरहेका छन् त ? 

ललितपुरको गोदावरीमा बसेको कांग्रेस महासमिति बैठकले निर्णय ग¥यो, चुनावी गठबन्धन नगर्ने । गएको चुनावमा कांग्रेसले गठबन्धन गरेरै ठूलो पार्टी बन्न पुग्यो । तर, समानुपातिकमा मत खस्किएको भन्दै कांग्रेसमा चर्को बहस मात्रै भएन्, बैठकमा आफ्नो निर्णय लागू गराउन महामन्त्री गगन थापाले ठूलो संघर्ष नै गरे । त्यसपछि कांग्रेसले पारित ग¥यो, चुनावी गठबन्धन नगर्ने निर्णय ।

कांग्रेस बरु चकटीमा बस्न तयार रहने तर अब चुनावी गठबन्धन नगर्ने रटान गगनको प्राय सबै भाषणमा सुनिन्छ । 

गगन मात्रै नभएर डा. शेखर कोइराला पनि चुनावी गठबन्धन गर्न नहुने पक्षधर नेता हुन् । यस्तोमा उनले कांग्रेसलाई बलियो पार्ने भन्दै विभिन्न फण्डा गरेर आफूलाई कांग्रेसमा पुर्नताजकी गर्ने काम समेत गरेको देखिन्छ । कांग्रेसले अब एक्लै उभिने दाबी मात्रै गरेको देखिन्न, शेखरले त अब कांग्रेसको नेतृ्त्वमा सरकार बन्ने दाबी गर्दै नयाँ संकल्प गर्ने दाबी गरिरहेका छन् ।

कांग्रेसको संस्थापन इतर पक्षले चुनावी गठबन्धनलाई नारा बनाए पनि इलाम र बझाङमा हुन लागेको उपचुनावको तयारीबारे भने खास प्रयास भएको देखिन्न । सभापति शेरबहादुर देउवाले गर्ने निर्णयपछि उम्मेदवारको लिस्ट हेरेर मात्रै तयारी हुने अवस्था देखिन्छ । तर, एमाले–रास्वपाले भने चुनावी तयारीलाई तीब्र पारेका छन् । उपचुनावलाई लोकप्रियतासँग जोड्न खोजेका दलहरुले गरेको तयारीका अघि कांग्रेसमा चुनावी गठबन्धन नगर्ने रटान फिक्का देखिन थालेको विश्लेषण हुन थालेको छ । 

शेखर–गगनको मौनता

शेखर तत्कालीन गठबन्धनमा आफ्नो भूमिका कस्तो थियो भन्नेमै केन्द्रित बनिरहेका छन् । यता, गगन थापा भने संवाद यात्राको क्रममा छन् । आगामी महाधिवेशनबाट सभापतिका लागि तयारी गरिरहेका गगनले शक्ति सञ्चयको प्रयास गरिरहँदा चुनावी तालमेल नगरी लड्ने कांग्रेस निर्माण गर्ने विषय कर्नरमा परेको छ । 
इलाम २ र बझाङको उपचुनावमा एमाले–रास्वपाले तयारी तीब्र पार्दै चुनावी प्रचार प्रसारलाई अघि बढाएपनि कांग्रेस रनभुल्लमै देखिन्छ । 

उम्मेदवार छनोटको विषयमै अलमलिएको कांग्रेस प्रचारमा जानै सकेको देखिन्न । एक्लै कांग्रेसलाई उभ्याउने दाबी गरेका नेताहरु किन देउवाको निर्णय कुरिरहेका छन् ? यस्ता प्रश्न समेत गम्भीर बन्दै गएका छन् । उम्मेदवार कुन गुटका हुन्छन् भन्ने विषयले समेत कांग्रेस पंक्ति रहस्यपूर्ण मौनता साँधेर बसेको बताइन्छ । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update