News 24 Television
देउवाकै अघि बम्किए कोइराला दाजुभाइ

काठमाडौँ । इलाम २ उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न सबैभन्दा कठिन नेपाली कांग्रेसलाई भयो । अन्य दलहरु आक्रामक प्रचारवाजीमा लागिरहँदा कांग्रेसले मंगलबार उम्मेदवार चयनका लागि डाकेको बैठकले समेत निर्णय लिन सकेन । 

गत मंसिर ४ को निर्वाचनमा एमाले उपाध्यक्ष सुवास नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका डम्बर खड्का र नेता भेषराज आचार्यको नाममा पक्षविपक्ष चल्यो । यसरी उम्मेदवार चयनमै अलझिएको कांग्रेसले इलाममा आफ्नो प्रभाव जमाउन सक्ला ? 

इलाम २ मा यसअघि सुवास नेम्वाङलाई कडा चुनौती दिएका डम्बर खड्का तथा नेता भेषराज आचार्य लगाएत ७ जनाको नाम शीर्ष सिफारीसमा परेको थियो । मुख्य आकांक्षी रहेका नेता खड्का र आचार्यमध्ये एक नाम छान्न सिंगो पार्टीपंक्तीलाई सकस पर्यो । २०५६ सालदेखि एमाले नेता नेम्वाङले किल्ला गाडेर बसेको इलाम २ मा उम्मेदवार सिफारीसका लागि कांग्रेसले निक्कै रणनीतिक बनेर छलफल गरिरहेको छ । 

सोही प्रयोजनका लागि मंगलबार देउवा निवास बुढानिलकण्ठमा झण्डै ५ घण्टा लामो सघन छलफलमा नेताहरु होमिए । तर खड्का र आचार्यको नाममा पक्ष विपक्ष चल्दा नेता शेखर कोइराला तथा डा. सशांक कोइरालाले बैठक नै बहिस्कार गरेर निस्किए । आचार्यले चुनाव जित्ने रिपोर्ट आएको भन्दै कोइराला दाजुभाइले उनलाई टिकट दिन सभापति देउवालाई दवाव दिएका थिए । निर्णय लिन नसकेपछि देउवाले बैठक नै सारेका छन् । 

गत मंसिर ४ को निर्वाचनमा कांग्रेस, माओवादी, एकिकृत समाजवादी लगाएत दलहरुको गठबन्धनबाट उम्मेदवार बनेका डम्बरबहादुर खड्का झिनो मतान्तरले नेम्वाङसँग पराजित भएका थिए । नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा खड्काको खातामा २९ हजार ९ सय ६ मत परेको थियो । तर खड्काले चुनावी आधार बिगारेको स्थायनीय नेता कार्यकर्ताले जिकिर गर्ने गरेका छन् । 

त्यसैले उम्मेदवार चयनका कारण कांग्रेसको माहोल बिग्रने निश्चित बनिसकेको छ । गत निर्वाचनमा समानुपातिक तर्फ इलाम २ मा एमालेको २६ हजार ५ सय ६२, कांग्रेसले २२ हजार ३ सय ३३ मत छ । तर समानुपातिक मतका आधारमा आसन्न निर्वाचनको परिणाम आंकलन गर्न नमिल्ने कांग्रेस नेताहरु बताउँछन् । तर, गठबन्धन नगर्ने निर्णय कांग्रेसको जितको आधार बन्ने कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाको दावी छ । 

ढिला गरी उम्मेदवार सिफारिस गरेको कांग्रेसले हालसम्म उम्मेदवार टुंग्याउनै सकेको छैन । जबकी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी तथा पहिचान पक्षधरहरुले स्वतन्त्र उम्मेदवारी दिएर प्रचारप्रसार तीब्र बनाइसकेका छन् । पहिचान पक्षधरहरुको आन्दोलनको प्रभाव तथा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितीले मतपरिणाममा निर्णायक प्रभाव पार्न सक्ने आंकलन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update