News 24 Television
काँग्रेसद्वारा अल्टिमेटम सकिएको घोषणा, संसद बैठक चल्न नदिने

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन काँग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा मुछिएको विषयलाई छानविन गर्न संसदीय समिति बनाउनका लागि दिइएको अल्टिमेटम सकिएको घोषणा गरेका हुन् । उनले विगतमा संसद अवरुद्ध भएको र तोडफोड समेत भएको आफूहरुले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनतालाई कमजोरी ठानिएको बताए । 

उनले आगामी संसद बैठकमा आउँदा संसदीय छानबिन समिति बनाएर आउन सरकारलाई अपील गरे । नेपाली काँग्रेस संसदीय छानविन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उनको भनाइ छ । 

‘आज मैले यहाँ उभिएर प्रमुख प्रतिपक्ष दलको तर्फबाट बोल्दै गर्दा केवल प्रमुख प्रतिपक्षी दलको तर्फबाट मात्रै बोलिरहेको छैन,’ शर्माले भने, ‘५० हजारभन्दा बढी सहकारीका पीडित भएका नागरिकहरुको तर्फबाट पनि बोलिरहेको छु । उहाँहरुको तर्फबाट बोल्दै गर्दा मैले जानकारी गराउनुपर्छ, आजबाट हाम्रो अल्टिमेटम सकिएको घोषणा पनि मैले यहाँलाई सुनाउनुपर्छ । संसद चलेन । संसद अवरुद्ध भयो । हामीले कसरी–कसरी संसद नचलेको हेरेका छौँ । संसद अवरुद्ध भएको हेरेका छौँ । संसदमा तोडफोड भएको हेरेका छौँ । आज प्रमुख प्रतिपक्षको विनम्रता, शालिनता कमजोरी लाग्यो ? के प्रतिपक्षले उठाएका प्रश्न गलत लाग्यो ? त्यसैले अब आजको बैठक पछाडी सरकारलाई अपील छ । आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय छानवीन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँ न बाँया हामी उभिने छैनौँ ।’

सांसद शर्माले मलेसियाको कानूनमा कुनै पनि देशको कोही अभियुक्त भएमा सम्बन्धित देशले कुटनैतिक प्रक्रियाबाट माग गरेमा सुपुर्दगी गर्न सकिने उल्लेख गरिएको पनि बताए । उनले किन जीबी राईलाई ल्याउन ढिलाइ भएको हो भनी प्रश्न रे । जिबि राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको सूचना आफूहरुसँग रहेको पनि उनको भनाइ छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update