 
                                                                    दोलखा । नेपालको स्विट्जरल्यान्ड भनेर प्रसिद्ध दोलखाको जिरीमा 'दोस्रो जिरी महोत्सव २०८०' हुने भएको छ ।
उद्योग वाणिज्य संघ जिरीको आयोजनामा १० दिन सम्म सञ्चालन हुने सो महोत्सवको यहीँ चैत २३ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा नयाँ वर्ष विशेष मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम आयोजना गरिने उद्योग वाणिज्य संघ जिरीका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा प्रिति आले, ज्योति मगर, एलिना चौहान, रचना रिमाल, राजनराज सिवाकोटी, रोज मोक्तान, नवराज घोरासैनी, मिलन नेवार लगागतका गायक गायिका एवम् हास्यकलाकार सागर लम्साल ‘बले’ लगायतका दर्जनौ कलाकारहको प्रस्तुती रहने आयोजकले जनाएको छ । ‘
नेपालको स्विट्जरल्यान्ड, सगरमाथाको प्रवेशद्वार, समृद्ध जिरी निर्माणमा अर्गानिक कृषि, पर्यटन, संस्कृति र उद्योगका आधार’ भन्ने नाराका साथ आयोजना गरिन लागेको सो महोत्सवमा महोत्सवमा ५० हजार बढी दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँबराबरको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार महोत्सवको प्रवर्धकहरुमा जिल्लाका नौ स्थानीय तह र छिमेकी जिल्ला रामेछपको गोकुलगङ्गा र उमाकुण्ड गाउँपालिका साझेदार र नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्र, उद्योग तथा वाणिज्य कार्यालय, प्राइम कमर्सियल बैङ्क, एकीकृत फ्रेन्डसिप सहकारी, नेपाल पत्रकार महासंघ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी रहेका छन् ।

 ‘हामीले महोत्सवको माध्यमबाट जिरीलाई देशकै प्र्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास तथा प्रवर्धन गर्न लागेका छौं’ अध्यक्ष श्रेष्ठले भने, ‘महोत्सवमा हामीले स्थानिय मौलिक उत्पादनहरुको प्रचार प्रसार गर्नुका साथै आदिवासी जनजातिहरूको मौलिक खानाले पर्यटनलाई स्वागत गर्ने योजना छ । यो महोत्सव आन्तरिक तथा वाह्य पर्यटकहरुलाई भित्र्याउन सफल हुने हामीले विश्वास लिएका छौं ।’
युवा संजाल जिरी सहआयोजक रहेको सो महोत्सव जिरीको पुरानो बैंक विल्डिङमा सञ्चालन हुने र महोत्सवमा जिरीको जिरेल समुदायको सांस्कृतिक कार्यक्रम, जिरीको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यटकीय क्षेत्रको सम्भावना, लगानीको क्षेत्र र भावी योजनाको बारेमा विज्ञबाट दैनिक रूपमा बहस पनि चलाइने आयोजकले जनाएको छ ।
 
                                     
                                                                     
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    