काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएसँगै नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गरेका छन् । गण्डकीमा उपधारा २ को सरकार बन्न कतिको सम्भव छ त ?
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि बहुमत प्राप्त गर्न सक्ने दलले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका छन् । योसँगै गण्डकीमा नयाँ सरकार गठनको प्रकृया शुरु भएको छ । विश्वासको मत लिने अन्तिम तयारीमा पनि मत पाउने स्थिति नदेखेपछि मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिएका हुन् । गण्डकीमा संसदीय अंक गणित जटिल मोडा रहेका कारण पनि गण्डकीमा सत्ता दाउपेच थप पेचिलो बन्ने संकेत देखा परिरहेको छ ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरे त्यसपछि २३ फागुनमा माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्तासँगै अल्पमतमा परेका मुख्यमन्त्रीले पदबाटै राजीनामा दिएका हुन् ।
कस्तो छ गण्डकीको संसदीय अंक गणित ?
६० सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुत नभएकाले त्यहाँ संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार बनेको थियो ।
गण्डकीमा कुन दलको सिट कति ?
- नेपाली कांग्रेसः २७
- नेकपा एमालेः २२
- नेकपा माओवादी केन्द्रः ८
- राष्ट्रिय प्रजातन्त्र पार्टीः २
- स्वतन्त्रः १
६० सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नका लागि ३१ सांसदको आवश्यकता पर्छ । तर, मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसदलाई समेटेपनि राप्रपालाई मनाउन नसक्दा विश्वासको मत लिने वातावरण बन्न सकेन् ।
केन्द्रिय सत्ता गठबन्धन अनुसारको सरकार गठनमा कस्सिएका एमाले–माओवादी केन्द्रसँग पनि बहुमत पुग्ने आधार देखिन्न् । सभामुखसहित एमाले–माओवादी केन्द्रसँग ३० सांसदमात्रै हुन्छन् । यस्तोमा सभामुखले मत दिन नपाउने हुनाले सरकार बनाउन जटिल छ । राप्रपालाई मनाउने दलहरुले मात्रै सरकार बनाउन सक्ने स्थिति छ । तर, राप्रपाले सत्ताका लागि कुनै प्रयास नगर्ने भन्दै सार्वजनिक रुपमै बोलिरहेको देखिन्छ ।
राप्रपा र ओली कनेक्सनको चर्चा
राप्रपासँग एमाले अध्यक्ष केपी ओलीको विशेष सम्बन्ध छ । गण्डकीमा एमालेले मुख्यमन्त्री पाउने सहमति गठबन्धनमा जुटिसकेकाले पनि गण्डकीमा राप्रपाले समर्थन गर्ने सम्भावना बने कायमै देखिन्छ । ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावमा गर्ने गरेको सहकार्य र राप्रपालाई सरकारमा ल्याउन सहज प्रयोग गर्दै आएका ओलीले गण्डकीमा यस्तो प्रयोग नगर्लान् भन्ने आधार भने छैन् ।
उपधारा २ अुनसार सरकार नबने के हुन्छ ?
– संविधानको धारा १६८ को उपधारा २ अुनसारको सरकार चैत्र २७ गतेसम्म बन्न नसकेमा सोहि धाराको उपधारा ३ बमोजिमको सरकार बन्ने
– उपधारा ३ मा संसदको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने
– काम चलाउ सरकारको नेतृत्व गरिरहेका सुरेन्द्रराज पाण्डे नै मुख्यमन्त्री बन्ने
– तर, उनले पनि मुख्यमन्त्री बनेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता
– तोकिएको समयमा विश्वासको मत लिन नसके उपधारा ५ को सरकार बन्ने
– ३० दिनमा फेरि विश्वासको मत पाउने स्थिति नबने काम चलाउ मुख्यमन्त्रीले मध्यावधी निर्वाचनको घोषणा गरेर ६ महिनाभित्र चुनाव गराउनुपर्ने हुन्छ ।
