काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको कोर टिम नै गम्भीर आर्थिक पारदर्शीताको संकटमा फस्न थालेको छ । रविलाई संकटमा पनि साथ दिनेहरु नै एकपछि अर्को गर्दै आर्थिक अपचलनको आरोपमा फस्नुले कतै रास्वपाको जम्बो टोली नै यस्तो अपचलनको दलदलमा त थिएन ? सर्वसाधारणमा आशंका बढ्न थालेको छ ।
पुराना दलबाट दिक्दारी भोगेका जनताले गएको चुनावमा रवि लामिछाने नेतृत्वको दल र उम्मेदवारलाई अथाह विश्वास गरे । निर्वाचनमा सम्मानजक सिट ल्याउन सफल रास्वपाको मूल नेतृत्व भने गम्भीर संकटमा फसिरहेको छ । गम्भीर संकटमा फस्दै गएको रास्वपाको मूल नेतृत्व र कोर टिममाथि नै लाग्ने गरेको आरोपले पनि पुरानाको विकल्प दिन रास्वपा सक्षम बन्ला त ? प्रश्न थप पेचिलो बनिरहेको छ ।
सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता र जनतालाई सामाजिक न्याय दिलाउने भन्दै उदाएको रास्वपा आर्थिक अपारदर्शीताको चंगुलमा देखिन्छ । सहकारी ठगीका प्रमुख ठानिएका गितेन्द्रबाबु राईसँगको सहकार्य र उनलाई रास्वपाका शीर्षस्थले दिने जिम्मेवारी पनि चासोमा छ । यस्तोमा सहकारी ठगी आरोप लाग्नेमा रविपछि उपसभापति डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि मुछिन पुगेका छन् । सहकारी ठगी प्रकरणमा रास्वपाको कोर टिम नै मुछिन पुगेपछि कतै रास्वपाभित्र सहकारी ठगीको जालो नै भेटिने त होइन ? आशंका थप बढेको छ ।
सहकारी ठगी आरोपमा रास्वपाका को-को ?
रवि लामिछाने
रास्वपाका सभापति समेत रहेका रवि लामिछाने अहिले सरकारमा उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारीमा छन् । उनीमाथि जीबी राईसँग मिलेर सहकारी ठगीमा संलग्न भएको आरोप लागिरहेको छ । तर, रविले भने यो आरोपलाई अस्वीकार गर्दै आएका छन् ।
डीपी अर्याल
रास्वपाका उपसभापति समेत रहेका श्रममन्त्री डीपी अर्याल पनि सहकारी ठगीमा मुछिन पुगेका छन् । हाम्रो नयाँ सहकारी संस्था लिमिटेडमा वचतकर्ताको रकम अपचलन भएको विषय उठिरहेको छ । जसमा डीपी पनि जोडिन पुगेका छन् । डीपी यो सहकारीमा एक वर्ष अघिसम्म पनि उपाध्यक्ष थिए ।
कविन्द्र बुर्लाकोटी
रास्वपाका सहमहामन्त्री रहेका कविन्द्र बुर्लाकोटी पनि हाम्रो नयाँ कृषी सहकारी संस्थामा ठगी आरोपमा मुछिन पुगेका छन् । कविन्द्र यो सहकारीको सञ्चालक सदस्य थिए ।
आर्थिक अपचलनको अर्को मुद्दा
तत्कालीन रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न भन्दै तीन करोड रकम माग गरेको अडियो सार्वजनिक भएपछि ढाकाकुमार कारबाहीमा परे । सांसद पद नै गयो । तर, रविले रास्वपामा गलत गर्नेहरु माथि ७२ घण्टामै कारबाही गरिन्छ भनि कुर्लिने गरेका थिए । अचेल आफै र आफ्नो कोर टिममाथि सहकारी ठगीको आरोप लागेपछि भने रविले सहकारीको पैसा अपचलन गरेको भनि समाचार आउने वित्तिकै आत्तिनु पर्दैन भन्न थालेका छन् ।
ढाकाकुमारले गरेको भनिएको अडियो सम्वादमा त लेनदेन नै भएको स्थिति समेत थिएन र उनले मन्त्री बन्नका लागि रविकै कोर टिमबाट भनिएको दाबी गरेका थिए । त्यो बेला ढाकाकुमारमाथि निर्मम बनेका रविमाथि कतिपयले आफ्नो टिमको नालीबेली नै फुस्किने डरपछि कारबाहीको डण्डा चलाइएको दाबी समेत गर्ने गरेको पाइन्छ ।
जता रवि र कोर टिम उतै जीबी
गितेन्द्रबाबु राईले रवि लामिछानेलाई नै विश्वास गर्दै ठूलो रकमको स्वेट सेयर दिदै खोलेको ग्यालेक्सी फोर के टेलिभिजनमा सहकारीको करोडौं रकम खन्याएको देखिन्छ । रवि एमडी बनेर ग्यालेक्सीको हर्ताकर्ता मात्रै बनेनन्, पूर्वसर्तलाई त्यागेर जीबीको जस्तो मुटु भन्दै बाहिरिए । तर, उनै जीबीले सहकारी ठगीमा मच्चाएको ब्रह्मलुटमा रविको कोर टिम नै मुछिन पुगेको छ । यस्तोमा जीबीलाई पातालबाट पनि पक्राउ गर्छु भनेका रविले अहिलेसम्म पक्राउ नगरेपछि कांग्रेसले शंका गरेको छ ।
जीबी राई रविको सम्पर्कमा भएको आशंका गर्दै कांग्रेसले प्रश्न उठाएपनि रविमाथि संसदीय समितिको माग गर्दै अब संसद चल्न नदिने धम्की कांग्रेसले दिन थालेको छ । यस्तो धम्कीका साथै कांग्रेसले रास्वपाको कोर टिम नै सहकारी ठगीमा जोडिएको आरोप समेत लगाएको छ ।
सुशासन र सरकारमाथिको प्रश्न
सुशासनका लगि जस्तोसुकै कदम चाल्ने दाबी गर्ने रास्वपा र रविमाथि अनेक प्रश्न उठिरहेका छन् । विवाद र आरोपले सुसज्जित रविले आफूलाई कैफियतरहित व्यक्ति बनाउने प्रयास गर्ने दाबी गर्दै आएपनि उनी एकपछि अर्को विवादमा परिरहने गर्नाले उनको प्रतिबद्धतामाथि समेत प्रश्न उठिरहेको छ । प्रतिबद्धतामाथिको मात्रै प्रश्न नभएर सरकारमाथि समेत पछिल्लो समय शंका बढ्न थालेको छ । सरकारले रविको वचाउमा संसदलाई नै घेराबन्दीमा राख्ने प्रयत्नलाई थप जोडदार ढंगले अघि बढानुमै शका गर्न थालिएको हो । सहकारी ठगीमा रविको संलग्नता नभएर संसदीय समितिबाट किन डराउनु पर्यो ? भन्न थालिएको छ ।
