News 24 Television
सुहाङलाई चुनावी चुनौति कसको र किन ?

काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । 

मनोनयन दर्ता गराउनुअघि विभिन्न क्षेत्रबाट आएका समर्थक, नेता कार्यकर्ताहरुको भीडले सुहाङलाई निर्वाचित गराउन भन्दै नाराबाजि गरेका थिए । 

शालिन, भद्र र मिठो बोल्ने सुवासचन्द्र नेम्वाङको जिम्मेवारीलाई काँध थाप्ने परीक्षामा सहभागी सुहाङलाई इलामका जनताले पत्याउलान ? 

सुवासचन्द्र नेम्वाङ । कानुन व्यवसाय हुँदै राजनीतिमा छिरेपछि सांसद, संविधानसभा अध्यक्ष बने । 

एमालेभित्रका शान्त र शालिन नेता मानिने उनी विवादमा कमै आउन चाहन्थे । संविधान बनाउदा उनले खेलेको भूमिका र संविधानसभा अध्यक्षको भूमिका निर्वाह गर्दा उनको बोल्ने शैलीले सबैलाई नजिक ल्यायो । 

सभामुख होस त सुवास जस्तो, राजनीतिदेखि सर्वसाधारणले भन्ने गर्थे । 

राजनीति गर्नेहरुलाई आरोप लाग्नु सामान्य भएपनि सुवासलाई सबैले मिजासिलो नेता नै ठान्थे । उनै सुवास हृदयघातका कारण बिलिन भए । 

सुवासको निधनपछि उनी निर्वाचित इलामको निर्वाचन क्षेत्र २ खाली थियो । 

त्यहि क्षेत्रमा हुन लागेको निर्वाचनमा उम्मेदवार बनेका छन, उनै सुवासका छोरा सुहाङ ।

सुहाङ नेम्वाङ वुवा सम्झिदै आफूलाई राजनीतिमा ल्याउँछन भन्ने गरेको कुरा सार्वजनिक रुपमै भन्ने गर्थे । सुहाङ पनि सुवास जस्तै शान्त नै देखिन्छन् ।

उनै सुहाङलाई एमालेले उम्मेदवार बनाएर इलाममा उतारेको छ । के सुहाङले निर्वाचन जित्लान ? 

प्रश्न जति गम्भीर छ, त्यति नै उनको लिगेसी सुवाससँग जोडिन्छ । हुनत इलाममा रास्वपा, कांग्रेस र स्वतन्त्रसहितका उम्मेदवार चुनावी मैदानमा छन् । तर, प्रारम्भीक रुझान हेर्दा प्रतिष्पर्धा एमाले–कांग्रेस र रास्वपाबीच नै हुने ठानिएको छ । 

सुहाङलाई किन सहजता ?

लामो समयदेखि इलामबाट निर्वाचित हुँदै आएका सुवास नेम्वाङ त्यो क्षेत्रमा मात्रै नभएर देशकै शान बनिरहेका थिए । 

राष्ट्रिय राजनीतिमा उनको बलियो उपस्थिति थियो । उनी पार्टी नेतृत्वसँग नजिक मात्रै थिएनन्, विश्वासपात्र समेत थिए । 

जुन कुरा इलामका जनताले नजिकबाट नियालिरहेका थिए । इलामका जनताले सुवासलाई देखाएको माया र मत अब सुहाङमा सर्ला ? 

गहन प्रश्न भने यहि हो । नेपालमा विगतमा भएका चुनावलाई हेर्दा सेन्टिमेन्टको मत आउने र दिवंगत व्यक्तिका आफन्त वा नातेदारले निर्वाचन जित्ने गरेको इतिहास छ । 

अझं, कलिलो उमेरको ठिटो राजनीतिमा होमिएको छ, त्यो पनि वुवाको विरासत थाम्छु भन्दै । यस्तोमा सुहाङलाई अन्य उम्मेदवारभन्दा सहज हुने आम अपेक्षा गरिएको छ । 

सुहाङका जटिलता

सुहाङ लामो समय राज्य सत्तामा बसेका सुवास नेम्वाङका छोरा हुन् । पछिल्लो समय पुराना दल नेताहरुप्रति फैलिएको अनास्था र उनीहरुबाट देशले गति लिन सक्दैन भन्ने भाष्यले पनि सुहाङलाई इलाममा सहज स्थिति देखिन्न । 

यसमा पनि उनी सुवास नेम्वाङका छोरा भएकै कारण पार्टीभित्र र विरोधीले सुवास नेम्वाङको परिवारको विर्ता हो इलाम भन्न थालेका छन् । 

सुवास नेम्वाङको झोला बोकेरै राजनीतिमा कपाल फुलाएका एमाले नेताहरुले नै अब छोराको पनि झोला किन बोक्ने भन्ने गरेको देखिन्छ । जुन विषय सुहाङका लागि जटिलता बन्न सक्छ । 

अन्य दल र पहिचानवादीको चुनौति

सत्ता समिकरणबाट माओवादी केन्द्रले सुहाङलाई सघाउने सहमति गरेसँगै अब मुख्य प्रतिष्पर्धीको रुपमा देखिएका छन, कांग्रेस र रास्वपा । 

कांग्रेस उम्मेदवार डम्बर खड्का गएको चुनावमा सुवास नेम्वाङविरुद्ध नै ठूलो मत ल्याएर प्रतिष्पर्धा गरेका पात्र हुन भने, कांग्रेस एक्लै चुनाव लड्ने भन्दै आइरहेको बेला यसले केहि फरक पार्न सक्ने दाबी गरिन्छ । 

यता, रास्वपाले पनि आक्रामक प्रचार–प्रसारसहित मिलन लिम्बुलाई मैदानमा उतारेको छ । रास्वपाले आक्रामक रुपमा गरेको चुनावी प्रचार–प्रसार र देशभरको माहोलले काम गर्न सक्ने डर धेरैमा देखिन्छ । 

यस्तोमा मुख्य रुपमा सुहाङलाई चुनौति कांग्रेस र रास्वपा नै हुने भएपनि पहिचानवादीहरुले समेत ठूलो असर पार्ने सम्भावना बलियो छ । 

कोशी प्रदेश नामाकरणको विषयमा एमालेले लिदै आएको अडान र पहिचानवादीको राम्रो प्रभाव रहेको इलाममा त्यसको प्रत्यक्ष प्रभाव सुहाङमा पर्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update