काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सत्ताबाट बाहिरिएको करिब २ दशक पुग्न लाग्दा अहिले भने निकै छटपटीमा देखिएका छन् ।
मुलुक बर्बादीतर्फ लाग्यो नयाँ ढंगले सोचौं भन्नेदेखि दलप्रति आक्रोश पोखिरहेका पूर्वराजाले के फेरि सत्तारोहणको सपनालाई बाहिर ल्याउन खोजेका हुन् ? गणतन्त्रको विकल्प राजतन्त्र बन्न सक्छ भन्ने भाष्य स्थापित गराउन ज्ञानेन्द्रको भूमिकाले काम गर्न सक्छ ?
दरबार हत्या प्रकरणपछि राजसंस्थामाथिको आक्रोश जनतामा चुलिन पुग्यो ।
दरबार हत्यापछि जनतामा देखिएको निराशा र तत्कालीन विद्रोही पक्ष माओवादीले गरिरहेको युद्धबाट आक्रान्त जनताले शान्ति चाहेका थिए ।
शान्तिको आवश्यकता परेको बेला ज्ञानेन्द्र शाहले सहज रुपमै गद्दी त्याग पनि गरे । उनले त्यसबेला जनताको नासो जनतालाई नै दिने घोषणामात्रै गरेनन्, मुलुक नछाड्ने दाबी पनि गरे ।
यसरी नै ज्ञानेन्द्रले नेपाल त छाडेनन्, तर, जनतालाई बुझाएको राजदण्ड र श्रीपेच फेरि उनलाई चाहिन थालेको छ ।
देशका विभिन्न कार्यक्रममा सहभागीता जनाउदै आएका उनले केहि पहिले एक कार्यक्रममा दरबार हत्यामा आफ्नो परिवारलाई जोडेको भन्दै आपत्ति नै जनाएका थिए ।
उनी जनतालाई साक्षी राख्दै दलहरुले मुलुकको प्रजातन्त्रलाई मास्न कस्किएको दाबी गर्नेमा अग्रपंक्तिमै उभिरहेका देखिन्छन् ।
देशका विभिन्न जिल्लामा नागरिक अभिनन्दनको नाममा पुग्ने र आक्रोश पोख्ने उनको दैनिकी जस्तै बनिरहेको छ २०८० साल ।
आक्रोशसँगै ज्ञानेन्द्रले अब देशमा नयाँ सहमति र संकल्पको आवश्यकता रहेको भन्दै दलहरुलाई शान्त अपिल गर्न खोजेको सन्देश जुम्ला पुगेर दिएका छन् ।
ज्ञानेन्द्रको मनोदशा
पूर्वराजा ज्ञानेन्द्र शाह सत्ताको छटपटीमा देखिन्छन् । सत्ताबाट बाहिरिएको लामो समयसम्म आक्रोशबाहेक मौन रहने गरेका उनी पछिल्लो समय विभिन्न ज्ल्लिामा पुगेर वक्तव्यदेखि भाषणबाजीमै उत्रिने गर्न थालेका छन् ।
यसले उनीमा सत्ताको रहर फेरि पलाउन थालेको शंका गर्न थालिएको छ ।
पछिल्लो समय राजावादी दलहरुको बढ्दो जनमत, प्रदेश संरचनामा देखिएको अस्थिरता, केन्द्रिय राजनीतिमा देखिएएको हलचलले जनतामा निराशा छाएको छ । यस्तै निराशालाइ अवसरमा बदल्न अब ज्ञानेन्द्र नयाँ सहमतिको नाममा दल समात्न त लाग्दैछैनन् ? प्रश्न यतातर्फ सोझिएको छ ।
सर्वपक्षीय सम्मेलनको धार
पूर्वराजा ज्ञानेन्द्रले सर्वपक्षीय सम्मेलन र नयाँ सम्झौताको वाक्यांश प्रयोग गर्दै राजनीतिक दलसँग वार्ताको आह्वान गरेका छन् ।
देश बचाउन र नागरिकको स्थिति जोगाउन भन्दै ज्ञानेन्द्रले गरेको अपिलको सन्दर्भ कुनैबेला नेपालमा चलेको चर्चित वाक्याशं ’गोलमेच सम्मेलन’को झल्को जस्तो देखिन्छ ।
गोलमेच सम्मेलनबाट संविधान जारी गर्ने विषय नेपालमा जसरी चर्चामा थियो, त्यसरी नै उनले राजनीतिक सहमति र वार्ताको आह्वान गर्नुले पनि ज्ञानेन्द्र अब सत्तामा फर्किनका लागि दलीय वार्ताको प्रयासलाई मुख फोरेर बोलेका छन् ।
सर्वपक्षीय सम्मेलन र नयाँ सम्झौताको विषयले समाधान निकाल्ने ज्ञानेन्द्रको अपिललाई दलहरुले सहजै लिने संकेत भने देखिन्न । तर, राप्रपाको शक्ति र दलीय दृष्टीकोणको लेपमा अड्डिएका ज्ञानेन्द्रले निश्चित राजनीतिक दलको फेरो समात्न खोजेका हुन् ? आशंका भने थप पेचिलो बनेको छ ।
