News 24 Television
'रेमिट्यान्स, राजश्व र विदेशी सहयोगका भरमा राज्य चलाउने सोच अन्त्य गर्नुपर्छ'

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स,राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने बताएका छन् ।

मंगलवार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले सरकार चल्यो भने मुलुकमा आर्थिक समृद्धि हुन नसक्ने बताए । उनले सरकारले मुलुकको अर्थतन्त्र रेमिट्यान्स,राजश्व र विदेशी सहयोगलाई मात्रै केन्द्रबिन्दुमा राख्न नहुने धारणा राखे ।

परराष्ट्रमन्त्री श्रेष्ठले पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि र निर्यात प्रवद्र्धनसहित व्यापार घाटा कम गर्नु पर्ने अहिलेको आवश्यकता भएको दाबी गरे । उनले त्यसको लागि निजी क्षेत्र र सरकारपक्ष बसेर खुला छलफल र बहस गर्नुपर्नेमा जोड दिए । पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकास र व्यापार घाटा कम गर्न आर्थिक क्रियाकलापलाई गति दिन आवश्यक रहेको उनको भनाइ थियो । 

परम्परागत रुप भन्दा पनि नयाँ सोचका साथ अर्थतन्त्रलाई गति दिनु सरकारको पहिलो प्राथमिकता रहेको समेत उनले बताए । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update