News 24 Television
ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको जर्सी विवादमा, किन झुकाइयो झण्डा ?

काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट राष्ट्रिय टोलीको नयाँ जर्सी खेलाडीलाई हस्तान्तरण नहुँदै विवादमा परेको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङको हातबाट उक्त नयाँ जर्सी सार्वजनिक गरेको थियो । तर सार्वजनिक समारोहमा खेलाडीहरुलाई भने सहभागी गराइएन । 

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका क्यानका सचिव पारस खड्काले खेलाडीहरुलाई सहभागी नगराएको भनेर समेत आलोचना भइरहेको छ । फरक भुमिकामा रहेर विश्वकपको जर्सी सार्वजनिक गर्ने अवसरमा साक्षी हुनु पाउनु गौरवको क्षण रहेको बताएका खड्काले यो ऐतिहासिक क्षणमा राष्ट्रिय टोलीका कप्तान वा कुनै सदस्यलाई सहभागी गराउने आवश्यकता भने देखेनन् । १० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण रहेको अवसरमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल वा कुनै पनि खेलाडीलाई समावेश नगराउनु क्यानको खराब पक्ष हो । यसअघि पारस खड्काकै नेतृत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक टवान्टी–२० विश्वकप खेलेको थियो ।  

मुख्यतः जर्सीको दुवै काँधमाथि तलपट्टि झुकेको रुपमा नेपाली राष्ट्रिय झण्डा राखिएको कुरालाई लिएर विवाद र आलोचना बढेको छ । विश्वकपका लागि नयाँ डिजाइनमा सार्वजनिक गरिएको उक्त जर्सी खेलकुद पोशाक कम्पनी ‘केल्मी नेपाल’ले निर्माण गरेको हो । नयाँ जर्सीमा छातीमा बायाँतिर क्यानको लागो राखिएको छ भने दायाँतिर ट्वान्टी–२० विश्वकपको लागो छ । जर्सीको तल्लो भागमा फिक्का रातो कलरमा गैँडा र सगरमाथाको चित्र अंकित गरिएको छ । माथि दुवै काँधमा भने नेपाली राष्ट्रिय झण्डा राखिएको छ । राष्ट्रिय झण्डा झुकेको अवस्थामा देखिन्छ । सामाजिक सञ्जालमा यसबारे आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताले बरु उक्त झण्डालाई बाहुलामा ठाडो रुपमा देखाइनु उपयुक्त हुनेजस्ता सुझाव समेत दिएका छन् । सामान्यतया राष्ट्रिय शोकका बेला राष्ट्रिय झण्डा झुकाउने गरिन्छ । क्रिकेट टोलीको जर्सीमा राष्ट्रिय झण्ड झुकेको अवस्थामा देखाइनुले नकारात्मक भाव दर्शाउने भन्दै आलोचना भइरहेको हो ।

विश्वकपमा खेल्ने नेपाली टोलीको जर्सीमा विश्वकै ध्यान जानेछ । तर काँधमाथि झुकेको झण्डा देख्दा राष्ट्रप्रेमी नेपालीहरुको मन अवश्यक कुँडिनेछ । जर्सी सार्वजनिक भएकै दिन नेपाली क्रिकेटका धेरै समर्थकहरुले झुकेको झण्डा देखाइएको विषयमा आलोचना गरिसकेका छन् । उनीहरूले अहिले सार्वजनिक गरेको नयाँ जर्सीभन्दा राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने पुरानै जर्सी राम्रो भएको टिप्पणी गरेका छन् । हुनत यसअघि राष्ट्रिय क्रिकेट टोलीले लगाउने जर्सीमा पनि काँधमाथि नै राष्ट्रिय झण्डा थियो । कतिपयले त विश्वकप खेल्ने टोलीको यो जर्सीभन्दा विद्यालयमा खेल्ने बालबालिकाकै जर्सी समेत कति राम्रो देखिने भनेर पनि टिप्पणी गरेका छन् । धेरैजसोले जर्सीका अरु कुरा ठीकै भए पनि झुकेको झण्डाले नरमाइलो लागेको बताएका छन् । समर्थकहरुले राष्ट्रिय झण्डा झुकेको यो जर्सी खारेज गर्न वा सच्याउन माग गरेका छन् । 

जर्सी निर्माता कम्पनी केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेले उक्त जर्सीमा सूर्यको किरण र गोल्डेन कलर रहेको बताउँदै यसको प्रतिकात्मक अर्थ ‘वारियर’का साथै ‘उदाउँदो’ भन्ने रहेको जानकारी दिए । उनले अब छिट्टै नै कुनै प्रतियोगितामार्पmत उक्त जर्सी नेपाली राष्ट्रिय टोलीलाई हस्तान्तरण गर्ने पनि बताए । 

मन्त्री श्रेष्ठले विश्वकप खेल्न नेपालको जर्सी सार्वजनिक गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका थिए । तर मन्त्रीजस्तो मान्छेले नै जर्सीमा राष्ट्रिय झण्डा झुकेको अवस्थामाथि भने ध्यान दिन सकेनन् । राखेपका सदस्यसचिव घिसिङले एकै वर्ष नेपालका दुई टोलीले विश्वकप खेल्नु गौरवपूर्ण अवस्था रहेको बताए । उनले नेपाली टोलीको सुन्दर जर्सीसँगै प्रदर्शन पनि सुन्दर हुने आशा व्यक्त गरेका थिए । 

आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजको संयुक्त आयोजनामा ट्वान्टी–२० विश्वकप हुँदैछ । नेपालले उक्त विश्वकपमा दोस्रोपटक खेल्न लागेको हो । ‘डी’ समूहमा रहेको नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग समूह प्रतिस्पर्धा गर्नेछ । 
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update