News 24 Television
लालिगुराँसले ढकमक्क तङतिङको क्रपु डाँडा

पोखरा । स्वर सम्राट नारायण गोपालको सदाबहार गीत ‘म त लालीगुराँस भएछु, वनैभरी फुलिदिन्छु मनैभरि फुलिदिन्छु’ हो कास्की मादी गाउँपालिका वडा नं २ को क्रपु डाँडा पुग्दा यो गीत नगुनगुनाउने बिरलै हुन्छन् । 

क्रपुबाट देखिने मनोरम दृश्य सँगसँगै राताम्य लालीगुराँस फूलको जंगलले स्वागत गर्दा शास्त्रहरुमा लेखिएको स्वर्ग यही त हो भन्ने जस्तो लाग्छ । 

समुन्द्री सतहबाट ३ हजार मिटरको उचाइ, पूर्व पश्चिम उत्तर दक्षिण जता फर्किए पनि लालिगुराँस फूलको लालीले स्वागत गर्छ । 

पुरै जंगल लालीगुराँसको, उकालोको थकान मेट्दै चिसो बतासले गर्ने स्पर्श र त्यसबाट प्राप्त आनन्द एउटा बेग्लै जीत जस्तो । 

पर्यटकीय राजधानी पोखराबाट केही घण्टाको यात्रामै पुग्न सकिने कास्की मादी गाउँपालिका वडा नं २ मा पर्ने क्रपु डाँडाले कास्कीको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा आफ्नो बेग्लै परिचय निर्माण गर्दैछ । 

हिउँदको समयमा हिउँ खेल्न र चैत बैशाखको समयमा लटरम्म फुलेका लालिगुराँससँग रम्न चाहनेहरूका लागि पोखराबाट सजिलै पुग्न सकिने उत्कृष्ट गन्तव्य हो क्रपु डाँडा । 

केही वर्ष पहिलेदेखि क्रपुसम्म पुग्ने मोटरबाटो निर्माण भएपछि तथा क्रपुमा होटल सञ्चालनमा आएदेखि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्ने भएकाले यहाँका होटलहरुमा टेन्टमा बास बस्ने व्यवस्था मिलाइएको छ । जसले पर्यटकहरूलाई थप नयाँ अनुभव प्राप्त हुन्छ । 

लालीगुराँसको जंगलमा हाइकिङ गर्दै हिँड्नुको मज्जा पनि बेग्लै हुन्छ क्रपूमा । राष्ट्रिय चरा डाँफेका साथै मृग जस्ता वन्यजन्तुको अवलोकन गर्न पनि पाइन्छ ।  क्रपुमा हाल ४ वटा होटल पनि सञ्चालनमा छन् । 

एक रातमा झण्डै सय जना पर्यटकहरू बास बस्न मिल्ने गरी ब्यवस्था मिलाएको होटल सञ्चालकहरु बताउँछन् । 

मौसम सफा हुँदा क्रपुबाट पोखरा बजार, बेगनासताल, लमजुङ्गका विभिन्न गाउँहरुका साथै अन्नपूर्ण हिमश्रृंखला नजिकैबाट नियाल्न सकिन्छ । 

पर्यटनको अथाह सम्भावना बोकेको क्रपुको प्रचारप्रसार तथा प्रवद्र्धनमा मादी गाउँपालिका र स्थानीयहरूले पहल गरेपनि उपल्ला निकायले खासै ध्यान नदिँदा सोचे अनुरुप पर्यटकहरूको आवागमन हुन सकेको छैन ।
 
त्यसो त मादी गाउँपालिका आफैमा पर्यटकीय गाउँपालिका हो । जहाँका हिमताल, लेकहरु, गुरुङ समुदायका बस्ती आफैमा पर्यटकीय दृष्टिले महत्वपूर्ण छन् । तर केन्द्रीय स्तरबाटै यसको प्रचार हुन नसक्दा बिस्तारै गाउँलेहरू सहर झर्ने क्रम बढ्दो छ । 

बढ्दो बसाई सराईका कारण गाउँ रित्तिदै छन् । त्यसैले पनि क्रपु डाँडा जस्ता पर्यटकीय आकर्षणका केन्द्रहरूमा केन्द्रीय स्तरबाटै दीर्घकालीन योजनाहरू निर्माण गर्न आवश्यक छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update