काठमाडौं । इलाम २ मा हुन लागेको उपचुनावको केन्द्रविन्दुमा मतदाताभन्दा धेरै केन्द्रमा छन्, किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ।
धर्मगुरु आत्मानन्दसँग समूदायको निश्चित मत भएको भन्दै नेताहरुले उनलाई भेट्ने र मत आफ्नोमा ल्याउन प्रयत्न गर्नेक्रम चलिरहेको छ । तर, चुनाव सकिएपछि धर्मगुरुलाई भेट्नेको रहर यसरी नै कसको पलाउँदो होला ? अन्य समय धर्मगुरुको महत्वलाई बुझ्ने गर्छन् त नेताहरु ?
किराँत सभ्यता लामो इतिहास बोकेको विषय हो । किराँत सभ्यतामा भएको अथाह मौलिकता र त्यसलाई बचाउनका लागि राज्यले निभाउनुपर्ने दायित्व भने खास कसैलाई चासोमा पर्ने गरेको देखिन्न । तर, इलाममा सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपचुनावका लागि दल र नेताहरुले किराँत धर्मगुरुलाई केन्द्रमा राख्दै मत तान्ने प्रयासलाई जोड दिइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पनि किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङलाई भेट गर्दै दर्शन गरे ।
उनले आशिर्वाद लिए । मतको अपेक्षासहित निस्किए । रविजस्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि उनै धर्मगुरु आत्मानन्दलाई भटे । दर्शन गरे र मतको अपेक्षा राखे ।
धर्मगुरुलाई भेट्न जाँदा खनालले दलबल नै लिएर पुगेका थिए । जसमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगु र कोशी प्रदेशका पूर्वमन्त्री तथा संसद खिनु लङ्वा समेत सहभागी थिए ।
उसोत; सुवासचन्द्र नेम्वाङको चुनावी प्रचारको बेला पनि एमाले अध्यक्ष केपी ओलीले धर्मगुरुलाई सम्मानित पात्रको रुपमा चित्रण गर्न भ्याएका थिए ।
उनले चुनावी सभालाई सम्बोधन गर्दै धर्मगुरु आत्मानन्दले लिएको अहिंसा, शान्ति र मानव कल्याणको मार्गलाई खुलेरै प्रसंशा गरेका थिए । यसरी हरेक चुनावी माहोलमा धर्मगुरुलाई भेट्ने र मतको अपेक्षा राख्ने काम सामान्य जस्तै बन्न पुगेको छ ।
इलाममा धर्मगुरु आत्मानन्दसँग केहि हजार सुरक्षित भोट रहेको र त्यो मत उनको निर्देशनमा एकछाप पर्ने हुनाले नेताहरुले चुनावको बेला केन्द्रमा राख्दै दर्शनभेट गर्ने गरेको टिप्पणी गरिन्छ । चुनाव सकिएपछि भने उनलाई भेट्ने शीर्ष नेताहरु खास पुग्ने गरेको देखिन्न । यद्यपी किरात समूदायमा उनको छुट्टै स्थान रहेको छ ।
धर्मगुरुलाई चुनावमा किन घसेटिन्छ ?
धर्म र राजनीति फरक विषय हुन् । धर्ममा राजनीति हुनसक्छ, तर राजनीतिमा धर्म हुनुहुन्न भनिन्छ । राज्यको निश्चित धर्म नहुने भएकाले पनि यस्तो भन्ने गरिन्छ । नेपाली समाज नै बहु धार्मिक–सांस्कृतिक र मौलिकता बोकेको छ ।
यस्तोमा धर्मगुरुहरु निश्चित मापदण्ड र आधारमा चल्ने भएकाले उनीहरुलाई चुनावी सामग्री बनाउनु सहि नहुने तर्क पनि आउने गर्छन् ।
धर्मगुरुले दिने निर्देशन र त्यसपछिको प्राप्त नतिजाले पार्ने प्रभाव जस्तो भएपनि धर्मगुरुसमक्ष चुनावको बेला हुल बाँधेर जाने र अघिपछि कहिल्यै नफर्किने हुनाले पनि यस्तो बेला घसेटेर विवादमा ल्याउनु ठिक नहुने तर्क गर्न थालिएको छ ।
धार्मिक समूदायको आफ्नै परम्परा र चालचलन हुने गर्छ ।
किराँत सभ्यता र किराँत धर्ममा विश्वास गर्ने समूदायमाथि राज्यले समग्रतामा लगानी गर्नु र संरक्षण गर्ने दायित्व लिनुपर्नेमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न गरिने दर्शनभेटले कतै धार्मिक समुदायमाथि अन्याय त पर्दैन ? दल र नेताहरुले ख्याल गर्नैपर्छ ।
