News 24 Television
प्रचण्डले वाम एकताको कुरा गरिरहँदा माधव भन्छन्– 'दास बनेर गठबन्धनमा बस्दैनौँ'

काठमाडौँ । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सव मनाइरहँदा कम्युनिस्टहरूमै एकता र विश्वासको वातावरण भने देखिँदैन । नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको आयोजना ग¥यो । महोत्सवमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी ओली, प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत प्रमुख नेताहरू उपस्थित भए । तर सत्ताबन्धनकै प्रमुख घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने उक्त समारोहमा गएनन् ।

सोमबार बिहान एमालेको केन्द्रिय कार्यालय च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक सभामा भने माधव उपस्थित थिए । त्यहाँ उनले माओवादी–एमाले नेतृत्वको  वर्तमान सत्ता गठबन्धनमा आफूलाई सहज अवस्था नरहेको बताए । नेपालको राजनीति जटिल मोडमा पुगेको बताउँदै उनले छोटो समयमा नै गठबन्धन ओल्टेकोल्टे भइरहेकोले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ भनी प्रश्न उठाए । गठबन्धनका हर्ताकर्ता प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै उनले कसैका धाक, धम्की, गालीगलौज सुन्नका लागि आफूहरू राजनीतिमा नआएको बताए । आफू दास बन्नका लागि गठबन्धनमा नबसेको समेत बताउँदै उनले यो गठबन्धन धेरै नटिक्ने आशय व्यक्त गरेका छन् ।

वर्षदिनमै काँग्रेससँगको गठबन्धन लत्याएर एमालेसँग साँठगाँठ गरेका प्रधानमन्त्री प्रचण्ड भने कम्युनिस्टहरूको पुनः वाम एकतामा जोड दिइरहेका छन् । गठबन्धनप्रति अनेक आशंका र अडकल भइरहेका बेला उनले प्रमुख कम्युनिस्ट पार्टीहरू पुनः एकतामा जानसक्ने संकेत गरेका छन् । सोमवार सोही सभामा प्रचण्डले कम्युनिस्टहरूलाई एकताबद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षका लागि प्रमुख आवश्यकता रहेको बताए । यही कुरा मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गरे । यद्यपि उक्त एकता विफल भएको थियो । एकपटकको एकता असफल हुँदैमा हार मान्नु नपर्ने भन्दै प्रचण्ले पुनः एकताको प्रयास जारी रहेको दाबी गरेका छन् । राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको सुदृढिकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको र समाजवाद नै अबको क्रान्तिको बाटो भएको उनको भनाइ छ । समाजवादको कार्यभार पूरा गर्न कम्युनिस्ट एकता अपरिहार्य भएको उनले बताउँदै आएका छन् ।

तर सत्तारुढ प्रमुख घटक एमालेका अध्यक्ष ओलीचाहिँ अहिले नै वाम एकताका लागि तयार देखिँदैनन् । उनले अहिलेको गठबन्धनलाई विपक्षी कांँग्रेसलाई कमजोर पार्ने र एमालेको मिसन ८४ अभियानलाई मजबुत बनाउने रणनीतिका रुपमा प्रयोग गरेका छन् । त्यही भएर प्रचण्ड नेतृत्वको सरकारलाई नै निरन्तरता दिने लाइनमा ओली देखिन्छन् । वर्तमान सत्ता गठबन्धलाई दिगो, परिणामुखी र सफल बनाउन एमालेले सम्पूर्ण सामथ्र्य केन्द्रित गर्ने उनी बताउँछन् । शनिबार ओलीले जनतामा यस गठबन्धनको दिगोपनप्रति आशंका रहेको भन्दै त्यसको खण्डन कुनै मन्तव्य वा वक्तव्यबाट नभई व्यवहारबाटै गरिने बताएका थिए । 

ओली–माधव सम्बन्धमा सधैँको कटुता कायम रहनाले यी दुई नेता सम्मिलित गठबन्धन दिगो हुनेमा विश्वास गर्ने आधार छैन । एमालेमा अध्यक्ष ओलीको कटु प्रहार र विभेदकारी व्यवहार सहन नसकेर नै माधव नेपालसहितका नेताहरूले एमालेबाट अलग्गिएर एकीकृत समाजवादी गठन गरेका थिए । अहिले सत्ता गठबन्धनमा माधवको चर्को असन्तोष देखिन्छ । उनी मन नलागी नलागी ओली–प्रचण्डको इशारामा बस्नुपरेको भन्ने अभिव्यक्ति बेलाबेला दिइरहेका छन् । विपक्षी दल काँग्रेसले प्रधानमन्त्री बन्न गरेको अफर त्यागेर उनी उदासिन रुपमै भए पनि ओली–प्रचण्डकै गठबन्धनमा बसेका छन् । तर भित्रिभित्रै घुर्की लाउन र बार्गेनिङ गर्न छाडेका छैनन् । मौका पाउनासाथ माधव गठबन्धन त्यागेर विपक्षी कित्तामा जान सक्छन्, जुन केही दिन अघि सुदूपश्चिममा उनको पार्टीको व्यवहारले पुष्टि गरेको थियो । यसप्रति ओली–प्रचण्ड सजग र लचक समेत देखिन्छन् । तर ओली र माधवको घोचपेच भने पछिल्लो समय बढिरहेको छ । यसले वाम एकता र गठबन्धनको निरन्तरता त्यति सहज छैन भन्ने देखाउँछ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update