News 24 Television
भारत फेरि नाकाबन्दी शैलीमा, चियामै गर्दैछ जालझेल

काठमाडौँ । नेपाली चिया नकिन्न भारतले विभिन्न वाहनाबाजी गर्दै आएपछि नेपाली किसानलाई हैरानी भइरहेको छ । विश्वबजारमा नेपाली चियाको गुणस्तरलाई राम्रो मानिए पनि भारतले गुणस्तरमाथि प्रश्न उठाउदै भन्सारमा नै रोक लगाइरहेको छ । आफुले निर्यात गर्ने सामानको सामान्य परीक्षण हुँदा पनि बम्किने भारतले नेपालमाथि भने हेपाह प्रवृति देखाएको भनि विगतदेखि नै आलोचना हुने गरेको  छ । 

यी ट्रक भित्र भारतमा निर्यात गर्न राखिएको नेपाली चिया छन् । तर, दुई हप्ता बढी भयो यि ट्रक अघि बढाउन पाइएको छैन । 

चियाको गुणस्तर नापजाँचको नाममा भारतले चिया निर्यात गर्न नदिएको हो । पश्चिम बंगाल सरकारअन्तर्गतको कृषि निर्देशनालयले चियाको गुणस्तर परीक्षण बिना नछाड्नु भन्ने निर्देशन जारी गरेको थियो । उक्त निर्देशन पछि विगतमा हुने रेन्डम जाँचलाई कडाई गरी प्रत्येक कन्साइन्टमेन्टको जाँच गर्नु पर्ने भन्दै भन्सारमा कडाई गरीएको छ । चियाको गुणस्तर जाँच भन्सारमा हुदैन भारतको केन्द्रीय प्रयोगशालामा हुन्छ । 

प्रयोगशालाबाट चियाको रिपोर्ट आउन दुई हप्ता बढी समय लाग्छ । यसरी परीक्षणका नाममा भारतीयको अवरोधका कारण नेपालबाट चिया बोकेर गएका ट्रक नेपाल–भारत सीमानाका पानी ट्यांकीमा थन्किएका छन् । नेपाली चियाको गुणस्तर राम्रो भएपनि भारतले गुणस्तरको नाममा कुरा उठाँउदै कडाई गरिरहेको हो । नेपालबाट खदिर गरेर लगिएको चिया भारतमा दार्जिलिङ चियाको ब्रान्ड बनाएर विभिन्न मुलुकमा समेत बिक्री हुँदै आएको छ । तर नेपाल सरकाले चिया निर्यातको बिषयमा गम्भिर हुन नसक्दा किसानहरुले सधैं भारतबाट सास्ती पाई रहेका छन् ।

नेपाली चिया गुणस्तरीय भएकाले आफ्नो चियाको बजार खस्किने सम्भावना देखेपछि भारतले नेपाली चियामा अवरोध गरिरहेको व्यवसायीहरुको दाबी छ । नेपालमा उत्पादन भएको चिया २० प्रतिशतमात्रै नेपालमा खपत हुन्छ भने बाँकी ८० प्रतिशत भारतीय बजारमा खपत हुन्छ । 

अहिले भारतको पश्चिम बंगालको पानीट्यांकीमा चिया लोड भएका १७ मालवाहक सवारी साधन बाटैमा थन्किएका छन् ।  

यो बर्षको चियाको सिजन बल्ल शुरु भएकाले भारतीय नियमका कारण यस बर्ष गत बर्ष भन्दा कम चिया निर्यात हुने देखिएको छ । समस्या समाधानका लागि छलफल थालिएको पनि छ तर, निकास निस्केको छैन ।

नेपालबाट  वार्षिक ३ अर्ब भन्दा बढी मुल्यको चिया निर्यात हुन्छ । यसको मुख्य बाजार भारत नै हो । तर भारतले रणनीतिक रुपमा नेपाली सामानमा अवरोध गर्दा किसानले दुख पाएका मात्रै छैनन् । देशकै अर्थतन्त्रमा पनि धक्का पुगिरहेको छ । भारतमा निर्यातमात्रै होइन विश्व बजारमा ब्राण्ड बनाउन सकिने नेपाली चियालाई सरकारले विश्वसामु स्थापित गर्नेतर्फ ध्यान दिनै पर्छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update