News 24 Television
भिजेको बिरालोजसरी प्रचण्डले साथ मागे, अन्तमा धोका र जालझेल मात्रै !

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका र जालझेल मात्रै गर्न जानेको बताएका छन् । आफ्नै पूर्व सहयात्री समेत रहेका प्रचण्ड सत्ताका लागि जे पनि गर्न र जोसँग पनि साँठगाँठ गर्न तयार हुने गरेको भन्दै बाबुरामले गम्भीर आरोप लगाएका छन् । 

बुधवार एक कार्यक्रममा बोल्दै बाबुरामले कहिले काँग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री प्रचण्ड सत्ताका लागि मरिहत्ते गरिरहेको बताए । उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरुलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान शुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रचण्डको सत्तामोहका कारण आफूले धोका मात्र पाएको बताए । डा. भट्टराईले अघिल्लो आम निर्वाचनका बेला भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि आफूसँग अनुनय विनय गरेको आरोप समेत लगाएका छन् । आफूले त्याग गरेर जिताएका प्रचण्ड सत्तामा पुगेपछि भने शेरजस्तो भएर गर्जिन थालेको भन्दै उनले आक्रोश समेत पोखेका छन् । 

केही दिन अघि डा. भट्टराईले आफ्नो गृहजिल्ला गोरखा पुगेर फेसबुकमा यो भावुक स्टाटस लेखेका थिए– ‘कहिलेकाहीँ असल मनसायले गरेको कामको गलत परिणाम आउनसक्छ । जनसेवामा समर्पित इमानदार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउनु हुँदैन ।’ २०७९ को आम निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र गोरखा– २ बाट ‘प्रचण्ड’लाई जिताएका भट्टराई यतिखेर पछुतोमा देखिन्छन् । उतिखेर प्रचण्डले बाबुरामलाई राष्ट्रपति बनाउने आश्वासन दिएको कुरा समेत बाहिर आएको थियो । 

आफ्नो निर्वाचन क्षेत्र चितवन– ३ मा हारिने डरले प्रचण्डले बाबुरामको निर्वाचन क्षेत्र गोरखा– २ बाट चुनाव लड्ने निर्णय गरेका थिए । यसको सट्टामा माओवादी लगायत तत्कालीन काँग्रेससहितको गठबन्धनले बाबुरामकी पुत्री मानुषी यमी भट्टराईलाई काठमाडौँ– ७ मा मतदान गरेर जिताउने सहमति समेत थियो । तर न बाबुराम राष्ट्रपति बने, न मानुषीले चुनाव जितिन् । मानुषीको क्षेत्रमा रास्वपाका गणेश पराजुलीले चुनाव जिते । मानुषीको पक्षमा अस्वाभाविक कम भोट परेपछि यसलाई गठबन्धनबाट भएको धोकाका रुपमा समेत विश्लेषण गरियो ।

आज बाबुरामले गोरखामा आफूले चुनाव नलडेर प्रचण्डलाई जिताएकोमा आत्मसमीक्षा गरेका छन् । नियमित मासिक गृहजिल्ला भ्रमणको क्रममा गोरखा पुगेका बाबुरामले अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले गत आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु आफ्नो गम्भीर गल्ती भनी टिप्पणी गरेकोले आफूले आत्मसमीक्षा गरेको बताएका छन् । समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु आफ्नो कमजोरी रहेको उनले स्वीकारेका छन् ।

देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र साम÷दान÷दण्ड÷भेदको दुष्चक्रमा फस्दै गएको अवस्थामा आफू सत्ताबाहिर बसेर त्याग गर्न खोजेको तर निर्वाचनपछि प्रधानमन्त्री बनेका प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नाङ्गो रूपमा प्रदर्शित हुँदै आएको र निस्वार्थ सहयोगको बदलामा अनर्गल झुट एवं जालझेलका प्रपन्च रचेको बाबुरामले बताएका थिए । अघिल्लो निर्वाचनमा रवि लामिछानेको नेतृत्वमा रास्वपा पार्टी गठन भयो भने रविले चितवन केन्द्रित गतिविधि तीव्र बनाए । रविले चितवन– २ बाटै निर्वाचन लडेर अत्यधिक मतले विजयी भए । 

सुरुमा रविले प्रचण्डकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने हल्ला पनि थियो । त्यो प्रचण्डका लागि चुनौती हुन सक्ने देखेर उनी चितवनबाट चुनाव लड्न हच्किए । आफ्नी छोरी रेणुलाई भरतपुरको मेयरमा जिताउन प्रचण्डले गरेको तिकडमका कारण पनि स्थानीय सचेत मतदातामा उनीप्रति असन्तोष बढेको थियो । चितवनमा नेकपा माओवादी केन्द्रको अवस्था कमजोर हुँदै गइरहेको अवस्थामा एमाले र रास्वपाको बढ्दो चुनौतीका बीच प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र छोडेर गोरखा लागे । बाबुराम २०६४ को संविधानसभा निर्वाचनदेखि नै गोरखाबाट निरन्तर विजयी हुँदै आएका थिए । तर ०७९ को निर्वाचनमा आफू नउठेर प्रचण्डलाई जिताएका बाबुरामले प्रचण्डबाट धोकाबाहेक केही पनि पाएनन् । 

२०५२ सालदेखि सशस्त्र युद्ध सुरु गरेका प्रचण्डले बाबुरामलाई पनि आफूपछिको शीर्ष नेतृत्व तहमै राखेका थिए । ६० को दशकमा शान्तिपूर्ण राजनीतिमा आएपछि भने करिब एक दशक उतारचढावमय सहयात्रा गरेका यी जोडीको २०७२ मा संविधान जारी भएलगत्तै ‘डिभोर्स’ भयो । एकआपसमा अविश्वास र मतभेद चुलिँदै जाँदा वैचारिक मतभिन्नताले उत्कर्ष लिएपछि तत्कालीन नेकपा माओवादी त्यागेर डा. भट्टराई हिँडेका थिए  । त्यतिखेर वैकल्पिक शक्ति निर्माण गर्ने भनेर हिँडेका बाबुरामले अनेकपटक पार्टी र समूह फेर्दै आए । अन्ततः सबैतिर असफल र एक्लो हुँदै जान थालेपछि उनी पुनः प्रचण्डकै नेतृत्वमा पार्टी एकता गर्ने योजनासम्म पुगेका थिए । तर प्रचण्डबाट फेरि धोका भएको भन्दै उनी आगामी चुनाव आफै लड्ने निर्णयमा पुगेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update