News 24 Television
पोखरामा देखियो डरलाग्दो अवस्था, पोखरावासी आक्रान्त  

कास्की । प्राकृतिक सुन्दरताले अनुपम स्थान मानिने पोखरा शहर अहिले प्राकृतिक अवस्थाकै कारण कुरुप बन्दै गएको छ । वसन्त ऋतुको यस समय पनि पछिल्लो दुई हप्ता यता पोखरामा राम्रोसँग घाम लाग्न सकेको छैन । प्राकृतिक कारणले नै विमान उडान ठप्प छन् । फेवा तालको पानीमा छायाँ बनि टल्किने माछापुच्छ्रे हिमालदेखि अन्नपूर्ण हिमश्रृङखला लुकेका छन् । जलवायु परिवर्तनको यो भयानक रुप पोखराले सामना गरिरहँदा पोखरावासी आक्रान्त छन् । 

यो पोखरा शहर हो । प्राकृतिक सुन्दरताले सजिएको शहर पोखरा यो त होइन होला भन्ने लागेको  होला तपाईलाई । तर, अहिले पोखरा प्राकृतिक सुन्दरतामा होइन, प्राकृतिक प्रकोपले विपत्तिमा छ । जलवायू परिवर्तनको भयान रुप पोखरा शहरले विगत दुईसाता यता सामना गरिरहेको छ । जलवायू परिवर्तनले अहिले वायू प्रदूषणको रुप धारण गरि पोखरालाई आक्रान्त बनाइरहँदा यहाँको हवाई सेवा समेत ठप्प छ । पोखरा र आसपासको क्षेत्रलाई तुवाँलोले डाकेको छ । न पानी परेको छ न त राम्रोसँग घाम लागेको छ । आसपासका जिल्लाहरुमा डढेलोले विपत्ति मच्चाईरहँदा यसको सिधा प्रभाव पोखरा र आसपासका क्षेत्रमा परेको हो । सामान्यतया चैत–वैैशाख महिना हुरीवतास चल्ने समय हो, तर यो पटक राम्रोसंग हावा समेत चल्न सकेको छैन । 

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वायू प्रदूषण ५० इन्डेक्स भन्दा माथि जानु धेरैनै खराब अवस्था हो । तर, पछिल्लो दुईसता यता पोखरामा वायू प्रदूषण दुई सय इन्डेक्सभन्दा माथि पुग्ने गरेको छ । निरन्तरको वायु प्रदुषणका कारण पोखरामा मानव स्वास्थ्यमा असर परेको छ । अस्पतालहरुमा आँखा र छातीका बिरामी बढेका छन् । वायु प्रदुषणका कारण आँखा पोल्ने, निरन्तर आँशु आउने जस्ता समस्या बढेको छ । त्यस्तै सास फेर्न गार्हो हुनुका साथै अरुबेलामा भन्दा  अहिले छातीको समस्याका बिरामी ४० प्रतिशतले बढेको  चिकित्सक बताउछन् ।  

जनस्वास्थ्य मात्रै होइन वायु प्रदूषणले भिजिविलिटी कम भएकाले पोखरामा विमानको अवतरण र उडान हुन सकेको छैन । पोखरा अन्तर्राष्टिय विमानस्थलमा इन्सट्रुमेन्ट ल्यान्डीङ सिस्टम जडान गरेको भय पनि चरम वायु प्रदूषणका कारण त्यो सिस्टमबाट पनि बिमानको अवतरण र उडान हुन सकेको छैन । पोखरा अन्तराष्ट्रीय विमानस्थलमा विमान अवतरण गर्न ३७०० मिटर र उडान भर्न १६०० मिटर भिजिविलिटी आवश्यक पर्छ तर यहाँ यो मापदण्ड पुगेको छैन ।

पृथ्वी राजमार्ग मर्मत भैरहेका कारण पोखरा पुग्न सडकको यात्रा सहज छैन । वायु प्रदुषणका कारण उडान समेत भएका छैनन् । यसले पर्यटकको आवागमनमा समेत प्रभाव पारिरहेको छ । जलवायु परिवर्तनकै एक रुप वायू प्रदुषणले यस्तो विकराल रुप लिँदा पनि सरकारले न्यूनिकरण एवम् नियन्त्रणको प्रभावकारी प्रयास गर्नै सकेको छैन । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update