News 24 Television
स्वर्गझैँ मनोरम अन्नपूर्ण हिमताल, पर्यटकका नजरमा ओझेल

कास्की । नेपालीमा एउटा उखान छ ‘माल पाएर पनि चाल नपाउनी’ । हो यही उखानलाई चरितार्थ पार्छ म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नच्र्याङमा रहेको अन्नपूर्ण हिमताल अर्थात पञ्चकुण्डले । धार्मीक र पर्यटकीय हिसाबले प्रकृतिको बरदान समान यो ताल प्रचार प्रसार र प्रवद्र्धनको पर्खाइमा छ । 

वरिपरि चाँदी झै टल्केका अन्नपूर्ण हिमश्रृखला र मनाङको तिलिचो हिमाल, बीचमा कञ्चन पानीले भरिएको विशाल हिमताल, यो दृष्य देख्ने जो कोहीको मनमा लाग्छ की यही हो सायद शास्त्रहरुमा उल्लेख गरिएको स्वर्ग पनि । तर नभुक्किनुहोस् यो कुनै भिएफएक्सबाट तयार गरिएको भिडियो भने होइन । यो तालको नाम हो अन्नपूर्ण हिमताल, जसलाई पञ्चकुण्ड पनि भनिन्छ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नच्र्याङमा रहेको यो ताल समुद्री सतहबाट ४ हजार ५० मिटरमा अवस्थित छ । 

अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको यो हिमताल मनाङको तिलिचो तालभन्दा थोरै सानो छ । १ लाख ७ हजार वर्ग मिटरमा फैलिएको यो हिमतालको गहिराई भने अहिलेसम्म मापन गरिएको छैन । म्याग्दीको सदरमुकाम बेनीबाट एक दिन र एक बिहानको यात्रा पछि सजिलै पुग्न सकिने यो हिमतालमा सोचेअनुरुप पर्यटक भने पुग्न सकेका छैनन् । यो ताल प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर त छ नै धार्मीक हिसाबले पनि यसको महत्व निकै छ । प्राचिनकालमा काकभुसुन्डिले यहि स्थानमा तपस्या बसेको विभिन्न शास्त्रहरुमा उल्लेख छ । यहि हिमतालमा आएर पीतृहरुलाई तर्पण दिएर उनीहरुको उद्दार हुने विश्वास रहिआएको छ । 

अन्नपूर्ण हिमाल आरोहणका क्रममा शेर्पा आरोहीहरुले यो तालको नाम डिकिचो अर्थात जमेको ताल नामाकरण गरेका थिए । अहिले चैत वैशाखको समयमा पनि यो ताल आंशिक रुपमा जमेको छ । जलवायु परिवर्तनका कारण नेपालका थुप्रै हिमतालहरु फुट्ने अवस्थामा रहेका समाचारहरु आइरहेका छन् तर अन्नपूर्ण हिमतालमा भने त्यस्तो कुनै जोखिम छैन किनभने हिउँपहिरोका कारण यो हिमताल थुनिने अवस्थामा छैन । जसका कारण पनि यो हिमताल अवलोकनमा पर्यटकहरु सुरक्षित हुन्छन् । 

तर, हरेक हिसाबले उत्कृष्ट र सुरक्षित हुँदा हुँदै पनि यो हिमतालमा पर्यटकको अवागमन भने निकै न्यून छ । पोखराबाट दुई दिनकै यात्रामा यो हिमतालसम्म पुगिने भएपनि यसको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको छ । सिंगो म्याग्दी जिल्ला कस्तुरीले जस्तै आफ्नै नाभिको वासना खोज्न भौतारिएको जस्तै लाग्छ । तर अहिले ढिलै भएपनि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गुरुयोजना नै बनाएर अन्नपूर्ण हिमतालको संरक्षण, प्रवद्र्धन तथा होटल लगाएत, पर्यटकलाई आवश्यक पर्ने संरचना निर्माणमा लागि परेको छ । 

छोटो दुरीको पदमार्ग यात्रा गरि हिमालको काँखमा पुग्न सकिने र यति सुन्दर हिमतालको अवलोकन गर्न सकिने गन्तव्य हो यो ताल । त्यसैले अन्नपूर्ण हिमताल पुग्नेहरुले भरपुर आनन्द उठान सक्ने देखिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update