News 24 Television
बजेटमार्फत निजी क्षेत्रको मनोबल बढाइने 

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताएका छन् ।

बिहीवार आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रम बोल्दै अर्थमन्त्री पुनले बजेटमार्फत निजी क्षेत्रको मनोबल बढाइने बताएका हुन् । यसका लागि प्रशासनिक, आर्थिक नीति नियम तथा व्यवसायिक वातावरण बनाउने गरी फरक–फरक छलफल गरेर असहज भएको ठाउँमा सहज बनाउने काम गरिरहेको उनको दाबी छ । 

लगानी सम्मेलनअघि कानूनी अफ्ठ्यारा हटाउन ८ वटा कानून संशोधन गरेको भन्दै त्यसबाट केही सहज वातावरण बनेको समेत उनले बताए । सरकारले एकल निर्णय गर्ने अधिकार भए पनि निजी क्षेत्रलाई सहभागी गराएर नीतिगत व्यवस्था गर्ने गरेको उनको भनाइ छ । 

मन्त्री पुनले औद्योगिक क्षेत्रका अन्य विषयलाई सरकारले बजेटमार्फत सहजीकरण गर्ने बताए । उनले सरकारको सोच लगानी र व्यवसायी मैत्री वातावरण बनाउने भएकोले वित्त नीति र मौद्रिक नीतिमा एकरुपता ल्याउन प्रतिबद्ध रहेको समेत बताए । 

स्वायत्त निकाय राष्ट्र बैंकलाई अर्थमन्त्रीले दैनिक कार्यमा चासो दिनुपर्छ भन्ने पक्षमा आफू नभएको बताउँदै अर्थमन्त्रीले सरकारको नीति भन्दा बाहिर राष्ट्र बैंक पनि नभएको दाबी समेत गरे । उनले राष्ट्र बैंकसँग अर्थ मन्त्रालयले सहकार्य गरेर नीतिहरु ल्याउने काम गरिरहेको बताए ।

अर्थमन्त्री पुनले बैंक, घरजग्गा, कृषि र निर्माण क्षेत्रमा सकारात्मक नभए पनि जलविद्युत र होटल पर्यटनमा राम्रो भएको भन्दै राम्रोलाई अझ राम्रो बनाइराख्ने योजना सरकारको रहेको बताए छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update