News 24 Television
कामिरिता शेर्पा, जसले २९औँ पटक सगरमाथा चढेर बनाए नयाँ कीर्तिमान

काठमाडौँ । आरोही कामिरिता शेर्पाले २९औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । आइतबार उनले वसन्त ऋतुको जारी आरोहणमा २९औँ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको पुरानाे कीर्तिमान तोडेका हुन् ।

    पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार कामिरिताले आइतबार बिहान सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला टेकेर विश्व कीर्तिमान बनाएका हुन् । उनका अनुसार यस यामको आरोहण सुरु भएयता आजसम्म ७० भन्दा बढी व्यक्तिले सगरमाथा आरोहण गरेका छन् ।

    सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक समेत हुन् । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका उनकाे नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

   सगरमाथा आरोहणकाे ७१ वर्षे इतिहासमा सर्वाधिक पटक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही बनेका छन् कामिरिता शेर्पा । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए । तर उनलाइ कामिरिताले उछिनेका हुन् ।

    यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गत शुक्रबारदेखि सुरु भएको थियो । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । ‘सगरमाथा हिमालचुलीको शिखरसम्म मिली बाटो निर्माण (रोप फिक्सिङ) गर्ने काम सम्पन्न भएसँगै टोलीमा संलग्न १० जना आरोहीबाट सगरमाथाको यस सिजनको पहिलो आरोहण सम्पन्न भएको थियो ।

    विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अझै एक/दुई टोली बढ्नसक्ने विभागले अनुमान गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update