News 24 Television
आगामी ५ वर्षमा आर्थिक वृद्धिदरको लक्ष्य  ७.३ प्रतिशत

काठमाडौँ । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्रौँ योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो । 

योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्रौँ योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए । उनका अनुसार  आव २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पुर्याउने लक्ष्य छ । 

उनका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ । सार्वजनिक सोह्राैँ योजनाका लक्ष्य अनुसार गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । 

यसैगरी उपभोक्ता मुद्रास्फीतिदर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा झर्ने लक्ष्य रहेको छ । तथ्याङ्क अनुसार मानव विकास सूचकाङ्क ०.६०१ बाट बढाएर ०.६५ पुर्याउने लक्ष्य रहेको छ । मानव सम्पत्ति सूचकाङ्क ७६.३ बाट ७८ पुर्याउने लक्ष्य रहेको छ । आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क २९.७ बाट २४ मा झार्ने लक्ष्य पनि तय भएको छ । 

यसैगरी अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पुर्याउने लक्ष्य रहेको छ । ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ७७ बाट ९० प्रतिशत पुर्याउने लक्ष्य रहेको छ । उच्च मध्यमस्तरको खानेपानीको पहुँच भएको घरपरिवार २५.८ बाट ४५ प्रतिशत पुर्याउने लक्ष्य रहेको छ । साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पुर्याउने लक्ष्य रहेको छ ।

सोह्राैँ योजना कार्यान्वयन गर्नका लागि अनुमानित लगानी करिब रु एक सय ११ खर्ब  लाग्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update