News 24 Television
गगन थापामाथि खनिए ओली, संसदमा उदण्डता प्रस्तुत गरेको आरोप

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रश्तुत गरेको आरोप लगाएका छन् ।

बुधवार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसका महामन्त्री थापाले सभामुखमाथि अशिष्ट ढंगले प्रश्तुत भएर उदण्डता देखाएको बताएका हुन् । सभामुखले बोल्न समय दिँदा गगनले ‘तपाईंको निगाहको समय चाहिँदैन’ भन्ने अभिव्यक्ति दिनुले उद्दण्डता प्रदर्शन भएको ओलीको भनाइ छ ।

उनले नेपाली काँग्रेसको सभामुखसँग बोल्ने भाषा यही हो ? भन्दै प्रश्न उठाए । काँग्रेसले एकदलीय, एकाधिकारवादी र तानाशाही चलाउन खोजेको ओलीको आरोप छ । काँग्रेस आफ्नो राजनीतिक अभिष्ट पूरा नभएपछि अरुलाई अपराधी करार गर्न लागेको उनले बताए ।

‘राजनीतिक अभिष्ट पूरा भएन, स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने ? अनि आफ्नोतर्फ आउन फकाउँदा फकिएन भने अपराधि भइहाल्ने ?’ ओलीले भने, ‘नारा लाउनेमा कस्तो छन् ? नेपाली काँग्रेसलाई सरम हुनुपर्दछ । मुद्दा हारेका, भ्रष्टाचारमा आरोपी होइन अपराधी ठहरिएका मान्छे अपराधी हो भनेर अदालतले फैसला गरेको मान्छे आएर जसमाथि कुनै मुद्दा छैन, केही छैन, ऊ चाहीँ भ्रष्टाचारी हो भन्छ । छानविन आयोग गठन गर भन्छ । के छानविन आयोग गठन गर्ने ? भ्रष्टाचारी ठहर भएकाले नारा लगाइराखेका छन् । नेपाली काँग्रेसलाई सरम हुँदैन ?’

नियम कानुन नेपाली कांग्रेसले नपढेको भन्दै ओलीले जनतामा भ्रम छर्न आवश्यक नभएको पनि बताए । राजनीति जटिल अवस्थामा रहेको बेला एउटा पार्टीको संकिर्ण स्वार्थ, गुट स्वार्थ, सत्ता स्वार्थका लागि संसद बन्धक बनाएर राख्ने र स्वेच्छाचारी ढंगले आफ्नो इच्छाअनुसार मात्रै संसद चल्न दिने ? भन्दै ओलीले प्रश्न गरे ।

अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा बोल्न पाउनुपर्ने बताए । उनले लामिछानेलाई आरोपित गरिएको भन्दै आरोपित व्यक्तिले बोल्न र सफाइ दिन पाउनुपर्ने बताएका हुन् । उनले आगामी संसद बैठकमा नेकपा (एमाले) पनि बोल्ने बताए । उनले कांग्रेसको आग्रहपूर्ण, द्वेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडी कुनै समिति बनाइरहनु जरुरी नभएको पनि बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update