News 24 Television
क्रेडिट कार्ड प्रयोग गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस् 

काठमाडौं । अहिले बैंकहरुले आफ्ना सबैजसो सेवा डिजिटाइज गरिसकेका छन् । तपाई हामीले सजिलै मोबाइल बैंकिङ, मोबाइल वालेट, डेविट कार्ड, क्रेडिट कार्डबाट भुक्तानी सम्बन्धी सेवा लिइरहेका हुन्छौं । 

यी प्रविधिको प्रयोगले आजकाल पैसा निकाल्न बैंक धाउन पर्ने बाध्यता छैन । अझ आफ्नो खातामा पैसा नभएपनि तिर्न मिल्ने क्रेडिट कार्डको प्रयोगले हामीलाई डिजिटल बैंकिङप्रति थप विश्वास बढेको छ ।

ग्राहकको बैंक खातामा पैसा नभएपनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधासहितको कार्ड क्रेडिट कार्ड हो । यसलाई अझ सरल रुपमा बुझ्दा यो एउटा उधारो कार्ड हो । 

यो हेर्दा डेविट कार्ड जस्तै देखिन्छ । यो तपाईंको बैंक खातासँग लिंक गरिएको हुँदैन । त्यसैले यो कार्ड तपाईं हामी सबै जनासँग नहुन सक्छ । यो कार्ड प्राप्त गर्न बैंक तथा वित्तीय संस्थाले तोकेको निश्चित मापदण्ड पुरा गर्नुपर्छ ।

यस्तो कार्डमा खर्च भएको रकम कार्डधारकले निश्चित समयपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई तोकिएको शुल्कसहित बुझाउनुपर्छ । नेपालमा क्रेडिट कार्ड ‘क’ वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो । 

सामान्यतः क्रेडिट कार्डको प्रयोग गरी रकम भुक्तानी गर्दा तोकिएको समयसीमासम्म कुनै ब्याज लाग्दैन तर सो मितिमा भुक्तानी नभएमा उच्च दरको ब्याज लाग्ने गर्छ । 

क्रेडिट कार्डको मासिक कारोबार निश्चित गरिएको हुन्छ । यो कार्डमा मास्टर कार्ड र भिजा कार्डको लोगो हुने हुँदा अनलाइन शपिङ्ग तथा कार्ड स्वाइप गर्ने ठाउँमा यसको प्रयोग गर्न सकिन्छ ।

यस्तो कार्ड जारी गर्दा क्रेडिट सीमा, कारोबारको बिल प्राप्त हुने मिति र माध्यम, भुक्तानी गर्नुपर्ने समयावधि, सो अवधिभित्र भुक्तानी नगरेमा लागू हुने ब्याजदर आदिका बारेमा जानकारी उपलब्ध गराई ग्राहकसँग सम्झौता गर्नुपर्ने र उक्त सम्झौता ग्राहकलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । 

त्यसैले, क्रेडिट कार्डको सीमा, शुल्क, ब्याजदर, भुक्तानी मिति लगायतका सर्तबारे प्रष्ट रुपमा बुझेर मात्र आफूलाई उपयुक्त हुने किसिमको कार्ड सम्बन्धित संस्थाबाट माग गर्नुपर्दछ । 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update