News 24 Television
किर्गिस्तानमा किन भिडे विद्यार्थी, नेपालीको अवस्था के छ ?

काठमाडौँ । गत शुक्रवार विद्यार्थीहरु बस्ने होस्टलमा भएको हिंसात्मक आक्रमणपछि किर्गिस्तानको राजधानी बिस्केकको अवस्था असामान्य बनेको छ । भारत, बङ्गलादेश तथा पाकिस्तानी विद्यार्थी बस्ने होस्टेलमा स्थानीय विद्यार्थीहरुले आक्रमण गरेपछि स्थिति असामान्य बनेको हो । किर्गीस्तान सरकारले विद्यार्थीहरुलाई सोमवारसम्म घर वाहिर नस्किन आग्रह गरेको छ । त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको अवस्था कस्तो छ त ? 
  
किर्गिजस्तानको राजधानी बिस्केकमा मे १३ मा एक होस्टेलमा किर्गिज र इजिप्टियन विद्यार्थीहरूबीच झडप भएको थियो । झडपपछि यातायात अवरुद्ध हुनुका साथै भवनहरूमा तोडफोड गरिए । सुरक्षाकर्मीहरुले झडपका क्रममा धेरैलाई गिरफ्तार गरे । स्थानीय विद्यार्थीहरुले झडप भएको ४ दिनपछि गत शुक्रबार भारत, पाकिस्तान र बंगलादेशका विद्यार्थी बस्ने छात्राबासमा हिंसात्मक आक्रमण गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

स्थानीय विद्यार्थीहरुले भारत, पाकिस्तान र बंगलादेशका विद्यार्थीहरू बसोबास गर्ने बिस्केकका मेडिकल युनिभर्सिटीका छात्रावासहरूलाई निशाना बनाइरहेका छन् । विदेशबाट आएर पढिरहेका विद्यार्थीहरु माथि आकृमण भएपछि त्यहाँको सरकारले विद्यार्थीहरुलाई सोमबारसम्म बाहिर ननिस्किने अपिल गरेको छ । भारत, पाकिस्तान र बंगाली विद्यार्थीहरु लक्षित आक्रमण भए पनि त्यहाँ चिकित्सा  शिक्षा (एमबीबीएस र  एमडी)अध्ययनकालागि गएका नेपाली विद्यार्थीहरु पनि रहेका छन् ।

 पाकिस्तानस्थित नेपाली राजदूतावासकाअनुसार किर्गिजस्तानको राजधानी बिश्केक वरपर करिब २ सय ८० जना नेपाली विद्यार्थी रहेका छन् ।  नेपाली विद्यार्थीहरु अहिलेसम्म सकुशल रहेको दूतावासले जनाएको छ । न्यूज २४ टेलिभिजनको सम्पर्कमा आएका केही विद्यार्थीहरुले आफुहरु सुरक्षित रहेको बताएका छन् ।  

किर्गिजस्तानमा चिकित्सा शिक्षा अध्ययन गर्न नेपाल, भारत, पाकिस्तान र बंगलादेश लगायत देशबाट ठूलो संख्यामा विद्यार्थी जाने गरेका छन् । पाकिस्तानी दूतावासले किर्गिज र इजिप्टियन विद्यार्थीहरूबीचको झगडाको भिडियो शुक्रबार समाजिक सञ्जालहरुमा भाइरल भएपछि स्थिति बढेको उल्लेख गरेको छ । 

नेपाल सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले नेपालीहरुको अवस्था र घट्नाको अवस्था बुझने काम भइरहेको जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update