News 24 Television
असफल कारोबारबाट घटेको पैसा यसरी हुन्छ फिर्ता

काठमाडौँ । विद्युतीय माध्यमबाट भुक्तानी वा रकम पठाउँदा कहिलेकाहीँ कारोबार असफल हुन सक्छ र खाताबाट रकम घट्ने हुन्छ । यस्तो रकम सम्बन्धित बैंक तथा वित्तीय संस्था वा सेवा प्रदायकले फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । ग्राहकले खबर नगरे पनि सेवा प्रदायकले एक देखि ३० दिनभित्र यस्तो रकम फिर्ता गर्नुपर्छ । 

डिजिटल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ लगायतका विद्युतीय माध्यमबाट भुक्तानी वा रकमान्तर गर्दा कारोबार सफल नभए पनि कहिलेकाहीँ प्राविधिक कारणवश खाताबाट पैसा घट्ने हुन सक्छ । यस्तो हुँदा रकम फिर्ता नहुने हो कि भन्ने चिन्ता हुनु स्वभाविक हो । कारोबार असफल भएको तर पैसा घटेको अवस्थामा फिर्ता पाउनका लागि ग्राहकले खबर गरेमा वा नगरेमा सम्बन्धित बैंक तथा वित्तीय संस्था वा सेवा प्रदायकले ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्छ ।  

(१) विद्युतीय भुक्तानीका माध्यमहरु जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था एउटै भएमा कारोबार भएपछिको एक दिनभित्र पैसा फिर्ता हुन्छ । 

(२) विद्युतीय भुक्तानी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक भएमा र दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको तीन दिनभित्र पैसा फिर्ता हुन्छ ।

(३) विद्युतीय भुक्तानीका माध्यमहरु जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक भएमा र कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिन भित्र पैसा फिर्ता हुन्छ । 

कारोबार असफल हुँदा पनि खाताबाट प्राविधिक कारणले रकम घटेमा फिर्ता पाउने व्यवस्था भएकाले ग्राहकले सजिलै आफ्नो पैसा फिर्ता पाउँछन् । रकम फिर्ता पाउने अवधि फरक परेपनि हिनामिना हुने सम्भावना हुँदैन । यसका लागि उपयुक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व डिजिटल बैंकिङ उपकरण जारी गर्ने र प्रयोग हुने दुबै संस्थाको हुन्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update