News 24 Television
ओलीको आक्रोशपछि पेलेरै जाने सभामुखको दाउ, रक्षात्मक काँग्रेस

काठमाडौँ । अघिल्लो हप्ताको बुधबार (जेठ २ गते) एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष केपी ओलीले काँग्रेसलाई अब संसदमा बोल्न नदिइने बताएका थिए । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै लगातार संसद अवरोध गर्दै आएपछि र संसदमा उद्दण्ड रुपमा काँग्रेस सांसदहरु प्रस्तुत भएपछि आक्रोशित भएका ओलीले अब काँग्रेस बोल्न नपाउने बताएका थिए । गृहमन्त्री रविलाई बोल्न समेत नदिएको काँग्रेसले अति गरेपछि सत्तापक्ष समेत पेलेरै अघि बढ्न खोज्यो । काँग्रेसकै नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत समेत लिए । 

ओलीले काँग्रेसले पाखुरा देखाएको भरमा, मसालको राजनीति गरेको भरमा आफूहरु नलत्रिने बताएका थिए । रविमाथि आरोप हो भने उनले बोल्न र सफाइ दिन पाउनुपर्ने भन्दै ओलीले आफूहरु पनि बोल्ने तर काँग्रेसले एकोहोरो बोल्न नपाउने बताएका थिए । कांग्रेस बोल्दा हामी सुन्नुपर्ने तर हामी बोल्दा काँग्रेस कराउने, नसुन्ने पनि हुन्छ ? भन्दै उनले प्रश्न उठाएका थिए । कांँग्रेसले सधैँ संसद रोकेर अब नरोकिने ओलीको चेतावनी थियो । 

ओलीको आक्रोशपछि बसेका सबै संसद बैठकमा काँग्रेसलाई पेलेरै सभामुख अघि बढेका छन् । शुक्रबार पनि उनले काँग्रेस सांसदहरुलाई बोल्न समय दिएनन् । काँग्रेसले सधैँ एउटै कुराको रोइलो मच्चाएपछि बजेट ल्याउनुपर्ने दबाबमा रहेको सत्तापक्ष फेरि पनि पेलेरै जाने मनस्थितिमा देखिएको छ । शुक्रबार कांग्रेस सांसदहरुले बोल्नका लागि समय माग्दा सभामुखले शून्य समय वा विशेष समय नरहेको भन्दै बैठकलाई कार्यसूचीमा अघि बढाउन खोजेका थिए । 

अघिल्ला बैठकहरूमा आफूले कांग्रेस सांसदहरूलाई बोल्न दिँदा नै समस्या बढेको भन्दै सभामुखले अब त्यस्तो एकोहोरो बोल्न दिने समय नरहेको बताए । काँग्रेस सांसदहरु विश्वप्रकाश शर्मा, रमेश लेखक, सुशीला थिङसँग सभामुखको सवालजवाफ नै पयो । यसअघि लगातार काँग्रेसलाई बोल्न दिइएको तर आज समय नरहेको सभामुखले बताउँदा पनि काँग्रेस सांसदहरुले मानेनन् । त्यसपछि रिसाउँदै सभामुखले संसद बैठक १३ गतेसम्मका लागि स्थगित गरे । 

बोल्न नपाएपछि काँग्रेस सांसदहरुले सभामुख सत्तापक्षको इसारामा चलेको आरोप लगाएका छन् । बैठक नै स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद प्रदीप पौडेलले सभामुखले आफूहरूलाई बोल्नै नदिएको र संसद प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लंघन गरेको आरोप लगाए । 

तर सत्तारुढ दलका सांसदहरुले भने काँग्रेसको आरोपको खण्डन गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काँग्रेस सांसदहरुको अवरोधका कारण आफूहरुले पनि बोल्न नपाएको बताए । 

काँग्रेसले विगतमा आफू बोल्ने र संसद अवरोध गर्ने तर अरुलाई बोल्नै नदिने गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा काँग्रेस सांसदहरुलाई बोल्न नदिने नभनिएको स्पष्ट पारे । 

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षलाई संसदमा बारम्बार बोल्न दिइएको बताए । समस्या समाधानका लागि प्रधानमन्त्रीले प्रयास गरिरहेको र कार्यदलले पनि चाँडै निचोड निकाल्ने उनको भनाइ छ ।

माओवादीकै सांसद लेखनाथ दाहालले नेपाली काँग्रेसको अवरोधका कारण महिनौँदेखि आफूहरु समेत संसदमा बोल्न नपाएको गुनासो गरे । कांग्रेस सांसदहरुले अरु सांसदको मौलिक हकको अपहरण गरेको उनको आरोप छ ।

सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलमा सहमति जुट्न सकेको छैन । काँग्रेसले समग्र सहकारीको समस्याभन्दा पनि गृहमन्त्री रवि लामिछानेलाई मात्रै केन्द्रित गर्न खोज्दा कार्यदलका बैठक निष्कर्षविहीन हुँदै आएका छन् । यद्यपि शुक्रबार काँग्रेस लचिलो रुपमा प्रस्तुत भएको र आइतबारसम्म सहमति जुट्ने एमालेका प्रमुख सचेतक बर्तौलाको भनाइ छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update