काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन् । आईतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका हुन् ।
अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि संकुचित भए पनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको बताए । उनले चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने, प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान रहेको जानकारी दिए ।
अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी, बागमती, लुम्बीनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औषतभन्दा माथि रहने अनुमान रहेको पनि बताए । उनले चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहने बताए ।
राजश्व परिचालनमा क्रमशः सुधार हुँदै गएको भन्दै उनले चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको राजश्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको पनि बताए । सो अवधिमा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भई ८ खर्ब १ अर्ब ५८ करोड पुगेको रसार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको उनले बताए ।
यस्तै कुल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको अर्थमन्त्रीले जानकारी दिए । उनले आर्थिक वर्ष २०७९÷०८०मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेको बताए ।
