News 24 Television
बजेट आएसँगै ओली प्रचण्डको एकमत,  खनिए कांग्रेसमाथि !

काठमाडौं । आर्थिक वर्ष २०८१\०८२ को वार्षिक बजेटले निराशा चिर्दै आशाको सञ्चार गराएको दाबी गर्न थालिएको छ । बजेटले मुलुकलाई नयाँ युगतर्फ लैजाने बाटो तय गर्ने विश्वास सरकारले व्यक्त गरिरहेको हो । बजेटमा धेरै सुधार र योजना छनोटमा ध्यान दिइएको दाबी सरकारले गरिरहेको यस अवस्थामा साँच्चै बजेटले आशा छर्न सक्ला त ? 

आर्थिक वर्ष २०८१÷०८२ का लागि सार्वजनिक भएको बजेटले समाजवादको आधार तय गर्ने विश्वास सत्तापक्षको छ । प्रतिपक्षले बजेट कर्मकाण्डी भनेपनि सरकारले ल्याएको बजेटलाई नीजि क्षेत्रले समेत स्वागत गरिरहेको देखिन्छ । यता, बजेट कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा सुधारका संकेत देखिने भन्दै प्रधानमन्त्री प्रचण्डले आम रुपमा विश्वास दिलाउन खोजिरहेका छन् । 

प्रधानमन्त्रीले बजेटको प्रशंसा गर्नु उनको राजनीतिक धर्म पनि हो । उनीसँगै अर्थमन्त्री वर्षमान पुन पनि बजेट सबै कोणबाट सन्तुलित र उद्देश्य केन्द्रित आएको दाबी गरिरहेका देखिन्छन् । 

आफैले ल्याएको बजेट सबै कोणबाट राम्रो भनि सत्तापक्षले जिकिर गर्दै गर्दा प्रतिपक्ष भने बजेट केवल ल्याउनकै लागि ल्याइएको भन्दै व्यङ्ग्य कस्न तम्सिएको छ । यता, सत्ता पक्ष भएपनि प्रतिपक्षीको व्यवहार भएको भन्दै असन्तुष्ट रहेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि बजेट सकारात्मक दिशाबाट आएको दाबी गरिरहेका छन् । 

यद्यपी, सार्वजनिक बजेट स्रोत सुनिश्चितताको प्रश्नमा घेरिएर आएको दाबी गरिरहेको बेला बजेटको आकार बृद्धि स्रोत अनुमान समितिकै नेतृत्वमा भएको गभर्नरले दाबी गरिरहेका  छन् ।

यता, बजेटले मुलुकलाई विकास समृद्धिमा लैजान नसक्ने र यथास्थितिबादी बजेट आएको भन्दै खरो प्रश्न गरिरहेको प्रतिपक्षीलाई प्रश्न गर्दै एमाले अध्यक्ष केपी ओलीले भने व्यवस्था फेरिएपछि केहि भएन भन्ने भन्दै आक्रोश पोखेका छन् । 

यसरी समग्र राजनीतिक अवस्था हेर्दा बजेटले निराशा छरेको भन्दै आक्रोश र विवाद चल्न थालेपछि सत्ता पक्ष बजेटबारे सकारात्मक सन्देश दिन लागि परेको छ । यता, नीजि क्षेत्रले समेत बजेट सकारात्मक रहेको भन्दै स्वागत गरिरहेको छ । यद्दपी, सत्ता र प्रतिपक्षीका आ–आफ्ना जिकिर रहेपनि बजेटको वास्तविकता भने बजेट कार्यान्वयनमा गएपश्चात मात्रै खुल्नेछ । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update