News 24 Television
श्रमाधान मेला : रोजगारदाता र श्रमिकको खोजी !

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा एक लाख युवालाई नेपालमै रोजगारीको सुनिश्चित गर्ने भनेको छ । जसका लागि अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत ३ अर्ब छुट्याएका छन् । यहिबीचमा नेपालमै रोजगारीको उपाय खोजी गर्न भन्दै सरकारले जेठ १७ गतेदेखि श्रमाधान मेला आयोजना गरेको छ । नेपालमा रोजगारीको ग्यारेन्टी नहुँदा वैदेशिक रोजगारीका लागि वर्सेनि लाखौं युवाहरु विदेशिने गरेका छन् । विदेशिन लाइन लागेका युवालाई रोक्न र विदेश गएका युवालाई आकर्षित गर्न यो मेलाले कस्तो सहयोग गर्ला त ? 

नेपालबाट वर्सेनि ५ लाख बढी युवाहरु विदेशिएका छन् । गत वर्ष त सबैभन्दा बढी ७ लाख ७१ हजार ३ सय २७ युवाहरु विदेशिएको सरकारी तथ्यांक छ । नेपालमै श्रमिक गर्ने नागरिकको यकिन तथ्यांक भने पाउनै मुश्किल छ । नेपालमा रोजगारीको अभावमा तथा भविष्यको खोजीका युवाहरु १२ कक्षा उत्तीर्ण गरेलगत्तै विदेशीने लहड नै चलेको छ । नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ छ । 

यो पारिश्रमिकले परिवार होइन, आफू एक्लै पालिन पनि मुश्किल छ । तर प्रधानमन्त्री, मन्त्रीदेखि सत्तासीन दलका नेताहरु भने नेपालमै भविष्य खोज्नुपर्ने बताइरहेका हुन्छन् । अझ नेपालमा भविष्य नै नभएको भनी भाष्य खडा गरिएको समेत भाषणबाजी गरिरहेका छन् । वर्सेनि ५ लाख बढी युवाहरु विदेशिने क्रम जारी रहँदा आगामी बजेटमार्फत सरकारले एक लाख युवाको रोजगारी सुनिश्चित गर्ने लक्ष्य राखेको छ । 

विश्वविद्यालयको अध्ययन पूरा नगरी युवा विद्यार्थीहरु पलायन भइरहेका छन् । सरकारले विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी रोजगारीको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र नीजि क्षेत्रसंगको सहर्कायमा उद्योग, व्यवसाय, कृषि तथा पशुपंक्षी फर्म, होटेल, पर्यटन, निर्माण क्षेत्र लगायतमा कार्यस्थल तालिम दिने योजना बजेट मार्फत अघि सारेको छ भने सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्न भन्दै श्रमाधान रोजगार मेला आयोजना गरिएको छ । 

रोजगारी सिर्जना गर्न सरकारले लिएको नीति, बजेट तथा कार्यक्रमलाई कार्यान्वयन गर्न यस्ता मेलाले मद्दत गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई छ । 

नेपालमा रोजगारीको समस्या विकराल छ । स्वदेशमा रोजगारी नहुँदा युवाहरु अध्ययन तथा विभिन्न बाहनामा विदेशिनुपर्ने बाध्यता छ । रोजगारीको समस्याहरुलाई तत्कालै समाधान गर्न पनि सहज छैन । तर रोजगारदाता कम्पनी खोज्न यस्ता मेलाले सहयोग गर्ने विश्वास सरकारको छ । 

रोजगारदाता र रोजगारी खोजीको दूरीलाई हटाउने भन्दै शुरु गरिएको श्रमाधान रोजगार मेला कोशी प्रदेशको विराटनगरमा सम्पन्न भइसकेको छ भने शनिवारदेखि मधेस प्रदेशको जनकपुरमा शुरु भएको छ । कोशीको मेलामा ५ हजार बढीले अवलोकन गरेका थिए भने रोजगारीको खोजीमा मेलास्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । त्यस्तै, उत्साह जनकपुरमा पनि देखिएको छ ।

जनकपुरपछि गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ तथा तथा बाग्मतीको ललितपुरमा जेठ २९ र ३० गते मेला आयोजना गरिँदैछ । 

सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको यो मेलाबाट कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दुस्थल बन्छ या बन्दैन, त्यो भने प्रतिक्षाको विषय बनेको छ । 


 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update