काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याएको बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन बजेट माथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पुनले सहज बाटो नरोजेको उनको भनाइ छ । अर्थतन्त्रीले अर्थतन्त्रका चुनौतीका बीच काम गर्ने कोशिस गरेको देखिएको पौडेलले बताए ।
पौडेलले अर्थमन्त्री पुनले बजेट तुलनात्मक रुपमा सन्तुलित ल्याएको बताए । उनले २० खर्बको हाराहारीमा बजेट आउने बाहिर आशंका र अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरु आएको भन्र्द सन्तुलित आकारको बजेट आएको दाबी गरे । अर्थमन्त्रीले ल्याएको १८ खर्ब ६० अर्ब ३० करोडको बजेटको आकार तुलनात्मक रुपमा सन्तुलित नै उनको भनाइ छ ।
तर बजेटको आकारअनुसार स्रोत जुटाउन सजिलो भने नभएको पौडेललको भनाइ छ । उनले बजेटलाई महत्वकांक्षी भन्दा पनि उच्च आकाँक्षी भन्न मिल्ने बताए । राजश्व संकलन, आन्तरिक ऋण र अन्तर्राष्ट्रिय सहयोगमा उच्च आकांक्षा राखेको बताउँदै पौडेलले अर्थमन्त्रीले आफैँले चुनौती सिर्जना गर्ने र चुनौती सामना गर्ने अठोट बजेटमार्फत गरेको बताए ।
चुनौतीपूर्ण यात्रा तय गरी त्यसलाई पार गर्नु अर्थमन्त्रीका लागि महत्वपूर्ण हुने उनको भनाइ छ । उनले जेठ १६ गतेसम्म ८ खर्ब ६७ अर्ब राजश्व संकलन भएको र चालु आर्थिक वर्षमा ११ खर्ब राजश्व संकलन हुने अनुमान भए पनि आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण गर्नुले यात्रा चुनौतीपूर्ण रहेको बताएका हुन् । सरकारले राज्यका सबै संरचना संयन्त्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा राजश्वको लक्ष्य पूरा गर्न सम्भव रहेको उनको भनाइ छ ।
