News 24 Television
सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दियो : काँग्रेस 

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको बताए ।

आईतवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले आवश्यकको आधारमा बजेट विनियोजन नगरेर सरकारले आफूखुशी अघि बढ्ने बाटो लिएको समेत बताए । 

प्रवक्ता महतले देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौती गर्ने काम गरेको भन्दै आपत्ति जनाए । उनले अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट थुपारेर सरकारले गलत बाटो लिएको दाबी थियो ।

‘यहाँ खानेपानीको अत्यन्त समस्या छ । तपाईदेखि पहाडसम्म नै समस्या छ । पानीका स्रोतहरु सुकेका छन्,’ महतले भने, ‘अब खानेपानीमा पहिला २८ अर्ब थियो, अहिले २६ अर्ब बजेट राखिएको छ । सम्पूर्ण रकम अर्थ मन्त्रालय, शहरी मन्त्रालयमा र केही चाहीँ भौतिक मन्त्रालयमा केन्द्रित गरिदिनु भयो । कानून मन्त्रालयमा ७७ करोडबाट ५४ करोडमा झारिदिनु भयो । यसरी विनियोजन गरिएको छ । जुन ठिक छैन । सभामुख महोदय, म के निवेदन गर्न चाहन्छु भने यो बजेटले धेरै कुरा नबोलीकन आफ्नो हिसावले खर्च गर्ने बाटो लियो । त्यो बेठिक भईराखेको छ । यो बजेटले ठिक बाटो पक्रन सकेन ।’

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update