 
                                                                    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा भन्दा पनि पहिला सफल आरोहण भएको ८ हजार मीटर भन्दा अग्लो हिमाल हो अन्नपूर्ण प्रथम । जसको आरोहण भएको ७४ वर्ष पुगेको छ ।
नेपालको पर्यटन विकासको सुरुवात भन्दै अन्नपूर्ण आरोहण भएको दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाउने गरिन्छ । एउटा ऐतिहासिक दिनको स्वर्ण महोत्सव मनाउँदा नेपाल पर्यटन बोर्डले सरोकारवाला संघ संस्था र व्यक्तिसंग समन्वय नगरेको भन्दै व्यापक विरोध भएको छ ।
आईतबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा निकै तामझाम देखियो । कोही स्वागतका ब्यानर बोकेका देखिन्थे भने पञ्चे बाजा पनि निकै घन्किएको थियो ।
केही बेरमा विमास्थलको भीआईपी आगमन कक्षबाट विभिन्न देशका नागरिकहरु निस्किए । उनीहरू थिए इजरायल, श्रीलंका, पाकिस्तान, बेलायत लगायत देशका नेपालस्थित राजदुतहरु ।
त्यस्तै अन्य कुटनीतिक नियोगका उच्च अधिकारी पनि पोखरा आएका थिए । विमानस्थलमा झरे लगत्तै सबै पाहुनाहरुलाई चर्चित पर्यटकिय गाउँ धम्पुस लगियो ।
नेपालमा रहेका ८ हजार मीटरभन्दा अग्ला हिमालहरू मध्ये अन्नपूर्ण प्रथम हिमालको सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस् हर्जोग र लुई लचेनलले सफल आरोहण गरेको खुसियालीमा यो दिनलाई हरेक बर्ष अन्नपूर्ण आरोहण दिवसको रुपमा मनाउने गरिन्छ ।
त्यही दिवस मनाउन भन्दै नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयले यो तामझाम गरेको हो । कास्की माछापुच्छ्रे गाउँपालिकाको धम्पुसदेखि अस्तामसम्म सबै पाहुनाहरुलाई पैदल यात्रा गराइयो ।
पैदल यात्रामा सहभागि इजरायलका राजदुत हनान गोडेरले नेपाल र यहाँको प्राकृतिक सुन्दरताको खुलेरै प्रशंसा गरे ।
यो त भयो नेपाल टुरिजम बोर्ड गण्डकी कार्यालयले अन्नपूर्ण दिवस मनाउँदा देखिएको बाहिरी तथ्य तर आन्तरिक रुपमा भने पर्यटन बोर्ड गण्डकी कार्यालयले एकलौटी ढंगले सरोकारवालाहरुसँगनै सहकार्य नगरेको भन्दै विरोधका आवाजहरू पनि प्रशस्तै सुनिए ।
अन्नपूर्ण दिवस मनाउन पर्यटन बोर्डले टान गण्डकीलाई सामान्य जिम्मेवारी तोकेको रहेछ । तर एउटा ऐतिहासिक दिनलाई भव्यरुपमा मनाउन जति सहकार्य हुनुपर्ने थियो त्यो हुन नसकेको टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्य बताउँछन् ।
अन्नपूर्ण आरोहण दिवस मनाएको भनिए पनि कास्की र म्याग्दीका अन्नपूर्ण क्षेत्रका जनतादेखि स्थानीय तहसम्म यो कार्यक्रममा कसैको सहभागिता थिएन । न त यो दिवस अन्नपूर्ण हिमश्रृंखला क्षेत्र भित्र नै मनाइयो ।
यतिसम्म कि पर्यटन क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई समेत बेवास्ता गरिएको बताउँछन् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठ ।
नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयले अन्नपूर्ण दिवस मनाउने भन्दै ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । तर यति ठुलो रकम सम्बन्धित क्षेत्रका जनता, स्थानीय तह र सरोकारवाला संघ संस्था सबैलाई बेवास्ता गर्दै खर्च गर्दा प्रश्न त उठ्ने नै भयो ।
यही विषयमा कुरा गर्दा विभिन्न प्रोटोकलका कारणले अन्नपूर्ण क्षेत्रमा कार्यक्रम गर्न नसकिएको नेपाल पर्यटन बोर्ड गण्डकीका लेखा अधिकृत सागर श्रेष्ठले बताए । केन्द्रको वार्षिक क्यालेण्डर अनुसार छुट्याइएको बजेटमा कार्यक्रम गरेको उनको भनाइ छ ।
अन्नपूर्ण आरोहण दिवस पर्यटन क्षेत्रका लागि एउटा राष्ट्रिय पर्व नै हो तर पर्यटन क्षेत्रको विकास गर्न स्थापना गरिएको नेपाल पर्यटन बोर्डले नै कसैले थाहा पाउँछ कि भनेर आयोजना गर्नु र सम्बन्धित सबै पक्षलाई नसमेटी राज्यको ८० लाख रुपैयाँ एकलौटी खर्च गर्नुले दालमा पक्कै केही कालो छ भन्न अरु प्रमाण खोज्नु नपर्ला ।
 
                                     
                                                                    
 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    