News 24 Television
पोल्ट्री प्रदर्शनीले चितवन भरिभराउ, होटल व्यवसायमा रौनक

चितवन । नेपाल कुनै चिजमा आत्मनिर्भर छ भने, त्यो हो कुखुराको मासु । यसको जस चितवनको पोल्ट्री ब्यवसायले नै पाउने गरेको छ । कुखुरा उत्पादनकै केन्द्र मानिँदै आएको चितवनमा तीन दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सम्पन्न भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युपमेन्ट एशोसियसनको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र चितवनमा भएको प्रदर्शनीले नेपालको पोल्ट्री क्षेत्रको समग्र विकास गर्न नवीनतम अत्याधुनिक प्रविधिहरु भित्र्याउने अपेक्षा गरिएको छ । 

हात्तीपोलो, कृषि प्रदर्शनी लगायत विभिन्न प्रदर्शनी हुने गरेको चितवनमा ३ दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीमा झण्डै ८ हजारले अवलोकन गरेका छन् । नाम दर्ता गरेका ६ हजार तथा उद्घाटनको अवसरमा २ हजार बढीले प्रदर्शनीको अवलोकन गरेका छन् । प्रदर्शनीमा विदेशबाट समेत ठूलो उपस्थिति रहेको थियो । उनीहरुले पनि प्रदर्शनीप्रति सन्तुष्टि जनाएका छन् । प्रदर्शनी अपेक्षा गरेभन्दा राम्रो भएकोे नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट बताउँछन् ।

प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शकहरुले नवीनतम प्रविधिहरुको प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायत विभिन्न देशका पोल्ट्रीसँग सम्बन्धीत कम्पनीहरुको स्टल रहेका थिए । 

नेपाली पोल्ट्री क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायतका सम्पूर्ण पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धि विभिन्न क्षेत्रहरु समेटेर नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यवसायीक परिचय दिई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र अन्य विकसित देशहरुमा भइरहेको पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्राउने महत्वपूर्ण वातावरण बनाउन अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गरिएको थियो । उक्त लक्ष्य पूरा हुने गरी प्रदर्शनी सम्पन्न भएको आयोजकको भनाइ छ ।

प्रदर्शनीपश्चात नेपाली पोल्ट्री कृषकले कम लागतमा पोल्ट्रीजन्य वस्तुको उत्पादन गरी उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादन खरिद गर्ने वातावरण बनाउन पनि सहयोग पुग्ने महासंघको विश्वास थियो । प्रदर्शनीमा पोल्ट्री व्यवसायमा नवीनतम प्रयोग सम्बन्धी गोष्ठी, बैठक र अन्तरक्रियासहित तीन दिने पोल्ट्री पाठशाला सेमिनार समेत गरिएको थियो । भरतपुर भ्रमण वर्षलाई समेत सहयोग पुर्याउने उद्देश्य राखिएको प्रदर्शनीले चितवनको होटल ब्यवसायसमेत चलायमान बनेको थियो । 


 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update