काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/०८२ मौद्रिक नीति खुला भएर लचिलो मौद्रिक नीति ल्याउने बताएका छन् ।
आईतवार काठमाडौंमा भएको इकोनोमिक मिडिया सोसाईट नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो समिक्षामा नै लचिलो मौद्रिक नीति अपनाउँदै आएको बताए । आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरुसँग आवश्यक छलफलको माध्यमबाट खुला मौद्रिक नीति ल्याउने उनले बताए ।
गभर्नर अधिकारीले मौद्रिक नीतिका विषयमा छलफल शुरु गरेको भन्दै कर्जा र ब्याजदरमा धेरैको चासो रहेको पनि बताए । विगत एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा एकोमोडेटिप पोलिसी एडप्ट गरिरहेको उनको भनाइ छ ।
नेपालको लगानी, पुँजीगत खर्च उत्पादनशील नभएको बताउँलै उनले लगानी उत्पादनशील बनाउनका लागि राष्ट्र बैंकले लिएका नीतिअनुसार बैंकको लगानी सही ठाउँमा सदुपयोग गर्नुपर्ने बताए । उनले कर्जाको लगानी उत्पादनमुलक क्षेत्रमा लगाउन निजी क्षेत्रलाई आग्रह समेत गरे ।
यसपटकको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राखेको गभर्नरको भनाइ छ । उनले कृषि क्षेत्रलाई चलायमान बनाउन र यसको वृद्धिका लागि बजेटमा विशेष ध्यान दिइएको पनि बताए ।
