काठमाडौं । आधुनिक प्रविधिको प्रयोगसँगै उल्लेख्य संख्यामा डिजिटल माध्यमबाट वित्तीय कारोबार भइरहेका छन् ।
सहज र झन्झटरहित भएकाले यो माध्यम सबैको रोजाइमा परेको छ । तर यसको प्रयोग गर्दा न्यूनतम सुरक्षाका उपायबारे ख्याल नराख्दा तपाई हाम्रो बैंक खातामा रहेको पैसा कुनैपनि बेला चोरी हुने सम्भावना हुन्छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले नेपालमा दुई लाख ४० हजार भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन् । यस्तै एक लाख ९० हजार भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता छन् ।
साढे पाँच लाख हाराहारी निक्षेप खाता सञ्चालनमा छन् । डिजिटल बैंकिङ कारोबार पनि तिव्र बढी रहेको छ । भुक्तानीका लागि सजिलो हुने, पैसा हराउने जोखिम नहुने, समयको बचत हुने लगायत कारण मानिसहरु डिजिटल कारोबारमा आकर्षित भइरहेका छन् । तर डिजिटल बैंकिङ प्रयोगमा केही न्यूनतम सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्ने देखिन्छ । त्यसो नगर्दा डिजिटल वित्तीय कारोबारमा कुनैपनि बेला ठगीमा पर्न सकिन्छ ।
डिजिटल बैंकिङ कारोबारमा ध्यान दिनुपर्ने कुराहरु
- डिजिटल वित्तीय कारोबार गर्ने मोबाइल र कम्प्युटरमा अनधिकृत पहुँच रोक्न अनिवार्य रुपमा पासवर्ड वा पिन ले लक गर्नुपर्छ
- डिजिटल वित्तीय सेवासँग सम्बन्धित लगइन आइडी, युजरनेम, पासवर्ड, पिन जस्ता व्यक्तिगत विवरण कसैलाई पनि दिनु हुँदैन ।
- इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल वालेट, बैंकमा रजिष्टार गरिएका इमेलका साथै आफ्ना डिभाइसमा लामो समयसमम एउटै पासवर्ड÷पिनहरु समयसमयमा परिवर्तन गर्नुपर्छ ।
- अरुले अनुमान गर्न सक्ने किसिमका सामान्य पासवर्ड प्रयोग गर्नुहुँदैन ।
- सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट प्राप्त मेसेजको भरमा वित्तीय कारोबार नगर्ने, कारोबार गर्नुअघि सम्पूर्ण विवरण यकिन गर्ने गर्नुपर्छ ।
- आधिकारिक वेबसाइट तथा मोबाइल एपको मात्र प्रयोग गर्नुपर्छ ।
यस्ता सम्वेदनशील विषयमा लापरवाह हुँदा सूचना चुहिने र वित्तीय ठगीमा पर्न किने भएकाले अत्यन्तै सजग भई डिजिटल वित्तीय कारोबार गर्ने बानी बसाल्नुपर्छ ।
