News 24 Television
डिजिटल कारोबारले जोगिन्छ राज्यको अर्बौ रुपैयाँ

काठमाडौं । चलनचल्तीमा रहेका नोटको प्रयोग जति बढी हुन्छ त्यति नै त्यसको आयु पनि कम हुन्छ । अर्थात केही वर्षमा नोट प्रयोग गर्न नसकिने हुन्छ । आयु सकिएर प्रयोगबिहिन भएका पुराना नोटलाई नयाँले विस्थापन गर्नुपर्ने हुन्छ । यसका लागि वर्षेनी राज्यले अर्बौं पैसा खर्च गर्नुपर्छ । तर अहिले डिजिटल कारोबार बढ्दै जाँदा नोटको आयु पनि बढ्ने देखिएको छ । नोटको आयु बढ्दा राज्यलाई नोट छपाईको भार कम हुन्छ । 

तपाई हामीले अहिलेपनि कुनै पनि वस्तु तथा सेवा खरिद गरिसकेपछि त्यसको भुक्तानी कागजी नोट बाटै गरेका हुन्छौं । यसरी नोटको भुक्तानी हुँदा यसको प्रयोग पनि बढी नै हुन्छ । नोटको धेरै प्रयोग हुँदा छिटो पुरानो हुन्छ र केही वर्षमै प्रयोग गर्न नसकिने अवस्थामा पुग्छ । अहिले नेपालमा नोटको औसत आयु चार वर्ष हाराहारी छ । प्रयोग गर्न अयोग्य भएका पुराना नोटलाई विस्थापित गर्नका लागि राज्यको अर्बौ रकम खर्च हुँदै आएको छ । आर्थिक एक वर्षमा नयाँ नोट छाप्नका लागि मात्रै एक अर्ब १० करोड रुपैयाँ हाराहारी खर्च हुने गरेको छ ।

नोट छाप्न कति खर्च लाग्छ ?

दश रुपैयाँको एउटा नोट छाप्न एक रुपैयाँ ४० पैसा पर्छ । यस्तै २० रुपैयाँको लागि एक रुपैयाँ ७३ पैसा, ५० रुपैयाँको लागि दुई रुपैयाँ ६७ पैसा, एक सय रुपैयाँको दुई रुपैयाँ ९९ पैसा, पाँच सय रुपैयाँको चार रुपैयाँ ६८ पैसा र एक हजार रुपैयाँको लागि तीन रुपैयाँ ३७ पैसा हाराहारी छपाई लागत लाग्छ । 

नोटका दर (रु)         नोट छाप्ने लागत (रु)
१०                             १.४०
२०                             १.७३
५०                             २.६७
१००                            २.९९
५००                           ४.६८
१०००                          ३.३७

नयाँ नोटको छपाई नेपालमा हुँदैन । छपाइका लागि खर्च भएको सबै पैसा सिधै विदेश जान्छ । राज्यलाई नोट छपाईको भार कम गराउन डिजिटल कारोबार बढाउनुपर्छ । त्यसका लागि डिजिटल बैंकिङ बारे साक्षरता बढाउनुपर्छ ।

अहिले नेपालमा क्यूआर कोड, मोबाइल बैंकिङ्ग, मोबाइल वालेट, इ–बैंकिङ्ग जस्ता विद्युतीय कारोबारका माध्यमको प्रचलन बढ्दै गएको छ । तर पनि नेपालमा डिजिटल वित्तीय कारोबारमा साक्षर भएको जनसंख्या जम्मा १८ प्रतिशत रहेको अध्ययनले देखाएको छ । त्यसैले डिजिटल वित्तीय साक्षरतामा बैंकहरुले लगानी बढाउनुपर्ने, डिजिटल कारोबारको दायरा बढाउनुपर्ने र नागरिकलाई डिजिटल कारोबारमा प्रोत्साहन गरी नोटको प्रयोग कम गर्न प्रेरित गर्नुपर्ने देखिन्छ । 


 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update