News 24 Television
नेपालमा अवैध क्रिप्टोकरेन्सीको कारोबार नगरौँ 

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार नेपालमा गैह्रकानुनी छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले नै यसको कारोबार, माइनिङ्ग र प्रयोगमा पूर्ण रुपमा बन्देज लगाएको छ । क्रिप्टोकरेन्सीबाट नागरिक ठगिने, देशको पुँजी पलायन हुने जस्ता समस्या जोडिएकाले यसलाई राज्यले बारम्बार अवैधानिक भन्दै आएको छ ।

विश्वमा प्रविधिको विकाससँगै लगानीको स्वरुपमा समेत परिवर्तन हुँदै आएको छ । भौतिक कारोबारलाई डिजिटल कारोबारमा रुपान्तरित हुने क्रममा क्रिप्टोकरेन्सीहरुको विकास भएको देखिन्छ । 

विश्वका धेरै मुलुकमा क्रिप्टो करेन्सीको कारोबार हुने गरेको छ । तर विश्वमा एल साल्भोडोर बाहेक कुनै पनि देशले क्रिप्टो करेन्सीलाई मुद्राको मान्यता दिएको  छैन । नेपालमा पनि क्रिप्टोकरेन्सी कारोबार लाई बर्जित गरिएको छ । नेपाल राष्ट्र बैंकले नै यसको कारोबार, माइनिङ्ग र प्रयोगमा पूर्ण बन्देज लगाएको छ । 

नेपाली वा विदेशी नागरिकले नेपालभित्र वा बाहिर बसेर कुनैपनि क्रिप्टो कारोबार गरेको वा गराइएको पाइएमा कानून बमोजिम कारबाही हुन्छ ।  

क्रिप्टोकरेन्सीको कारोबार बढ्दै जाँदा आतंकवादी क्रियाकलापमा लगानी, सट्टेबाजी जस्ता गैरकानूनी गतिविधि बढ्ने आशंका केन्द्रीय बैंकको छ । 

त्यसैगरि ठगी, कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतार–चढाव हुन सक्छ । यस्ता गतिविधिले राज्यको आर्थिक क्रियाकलापमा प्रभाव पारेर नागरिकको पुँजी समेत हराउन सक्छ । नागरिक र राज्यको हितमा नभएकाले नियामक निकायले क्रिप्टोकरेन्सीलाई बारम्बार अवैधानिक भन्दै आएको छ र कारोबारमा बन्देज लगाउँदै आएको छ ।

क्रिप्टोकरेन्सी ब्लकचेन प्रविधिमा आधारित हुन्छ । यसलाई कम्प्युटरको नेटकर्वले निरिक्षण र सञ्चालन गरिएको भन्ने गरिन्छ । प्रयोगकर्तालाई यसको सञ्चालकको बारेमा ज्ञान हुँदैन भने नियमन गर्ने निकाय पनि हुँदैन । कहिँ कतैबाट पनि नियमन नहुने भएकाले नागरिक ठगिने भएपछि राष्ट्र बैंकले यसको कारोबारमा पूर्ण बन्देज लगाएको हो । 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update