News 24 Television
‘भोलेन्टियर्स नेटवर्क’ बनाउँदै ओली, तर कसका लागि ?

काठमाडौँ । स्वतन्त्र रुपमा निर्वाचन जितेर धरानको मेयर बनेका हर्क साम्पाङले स्वयंसेवी श्रमदानमार्फत विकास कार्यलाई नमुनाका रुपमा अघि बढाए । २०७९ को स्थानीय निर्वाचनपछि धरानमा उदाएका साम्पाङ श्रमदानमार्फत खानेपानी आयोजना, वृक्षारोपण लगायत विकास निर्माण र समाजोपयोगी काम गराएर चर्चामा रहे । उनी आफै पनि जनसाधारणसँगै श्रमदानमा खट्दै आएका छन् । धेरैले उनको कार्यशैलीको प्रशंसा गर्दै स्वयंसेवाको भावनाले श्रमदान समेत गर्दै आएका छन् । पछिल्लो समय संघीय सरकारमा गएको रास्वपाले पनि स्वयंसेवाको भावनालाई आत्मसात् गरेको छ । गृहमन्त्री रवि लामिछानेले मनसूनजन्य विपत्तिका बेला राजनीतिक दलका स्वयंसेवकहरुलाई उद्धार तथा राहतमा खटाउने निर्णय गरेका छन् । 

गत बिहीवार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै गृहमन्त्री लामिछानेले राजनीतिक दलहरुसँग विपद्मा स्वयंसेवा गर्ने कार्यकर्ताहरुको विवरण मागेका थिए । उनले मनसुनजन्य विपद्मा स्वयंसेवक आवश्यक पर्ने भएकाले दलहरुले आफ्नो तर्फबाट कति स्वयंसेवक दिन सक्छन्, सोही अनुसार मन्त्रालयले योजना बनाउने बताए । दलहरुको संगठन सबैतिर हुने भएकाले सो संगठनलाई विपद् व्यवस्थापनमा खटाउँदा प्रभावकारी हुने गृहमन्त्रीको भनाइ थियो ।

यससँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सचेतना र परिवर्तनका लागि अलग्गै स्वयंसेवक दस्ता खडा गर्ने बताएका छन् । एमालेले भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर सामाजिक परिचालन गराउने ओलीको भनाइ छ । समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेटवर्क बनाएर परिचालन गर्न चाहेको ओलीले बताए । एमालेको हालै सम्पन्न राष्ट्रिय महिला भेलामा महिलाहरुलाई मात्रै भोलेन्टियर्सको रुपमा परिचालन गरिएको थियो । आईतबार एमाले मुख्यालय च्यासलमा ती स्वयंसेवी महिलाहरुको सम्मान गर्न आयोजित कार्यक्रममा ओलीले अब महिला र पुरुष दुवैको भोलेन्टियर्स नेटवर्क बनाएर काम गर्ने बताए । स्वयंसेवक नेटवर्कमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने उनको भनाइ छ ।

विगतमा पनि एमालेले आफ्ना जनजर्गीय संगठनमार्फत स्वयंसेवा गर्दै आएको ओलीले बताएका छन् । पिपुल भोलेन्टियर्स, युथ फोर्सजस्ता संस्थाहरुलाई स्वयंसेवी संस्थाको रुपमा परिचालन गरेको ओलीको दाबी छ । उनका अनुसार ठूलो समूदाय भयो भने त्यहाँ जैविक क्रियाकलापहरु हुन्छन्, ती क्रियाकलापहरुको सही व्यवस्थापन स्वयंसेवाबाट मात्रै गर्न सकिन्छ । भोलेन्टियर वा स्वयंसेवक भनेपछि त्यहाँ कडा जंगी अनुशासनको कुरा पनि आउने गर्छ । त्यस्तो अनुशासन जीवनका लागि अत्यन्तै महत्वपूर्ण रहेको ओलीको भनाइ छ । 

एमालेबाहेक अन्य राजनीतिक दलहरूले पनि पार्टीको कामका लागि जस्तैः राष्ट्रिय, सभा–सम्मेलन, महाधिवेशन तथा चुनावी भेला र प्रचारात्मक कार्यमा विगतदेखि नै स्वयंसेवक युवाहरुलाई खटाउँदै आएको पाइन्छ । कहिलेकाहीँ भूकम्प, बाढी–पैह्रो जस्ता प्राकृतिक विपत्तिमा पनि जनतालाई राहत पु¥याउन र उद्धार कार्यमा दलका स्वयंसेवक खटिने गरेका छन् । तर सदावहार जनताको हित, सेवा–सुविधा, सचेतना तथा विकास निर्माण कार्य र सामाजिक परिवर्तनका कार्यमा दलहरुले आफ्ना स्वयंसेवक खटाउन सकेका छैनन् । 

एमालेले बनाउन खोजेको स्वयंसेवक दस्ता कस्तो बन्ला, दलको मात्रै कि जनताको पनि ? हेर्न बाँकी छ । पार्टीको विचारधारा प्रचार तथा संगठन विस्तारको स्वार्थका लागि मात्रै नभएर साँच्चिकै सामाजिक परिवर्तनका खातिर दलहरुले स्वयंसेवक खटाउने हो भने यसले केही सकारात्मक अर्थ राख्छ । अन्यथा दलका दास उत्पादनबाहेक केही गर्न नसक्ला । जनतामा राजनीतिक दलहरु र प्रवृत्तिप्रति चरम वितृष्णा बढ्दै गएको बेला राजनीतिक संगठनहरु जनमुखी हुने र जनभावना जित्ने होड समेत बढ्दै गएको छ । यसको एउटा मुख्य स्वार्थ भनेको चुनावमा जनमत तान्नु र संगठन विस्तार गर्नु नै हो । तर खासमा विकास, सामाजिक परिवर्तन र जनताको सेवा दलहरुको होडको विषय बन्नुपर्ने हो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update