काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले .सोमवार बजेट सार्वजनिक गरेका छन् । ७५३ पालिकामध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले भने सोमबार मात्र बजेट सार्वजनिक गरेका हुन् । देशभकार ६ महानगरपालिकामध्ये काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । सोही व्यवस्था अनुसार सबै स्थानीय निकायले आइतवार सोमवार आफ्नो एक वर्षे आय व्यवको विवरण सार्वजनिक गरेका छन् । जसमध्ये काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८१/८२ का लागि सोमबार नगर सभामा बजेट प्रस्तुत गरिन् ।
बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखिएको छ । महानगरपालिकाले आगामी आर्थिक बर्षको लागि स्थानीय सञ्चित कोषमा आर्थिक विकासमा १९ करोड ९ लाख रुपैयाँ खर्च हुने गरी विनियोजन गरेको छ । यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ करोड ४५ लाख विनियोजन भएको छ । पूर्वाधार विकासमा १४ अर्ब ८१ करोड, सामाजिक विकासतर्फ ३ अर्ब ८१ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि १ अर्ब ८९ करोड बजेट विनियोजन भएको छ ।
महानगरले आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको छ । यस्तै राजस्वको स्रोतमा महानगरले शसर्त अनुदान संघबाट १ अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाख अनुमान गरेको छ ।
संघीय राजस्व बाँडफाँडबाट १ अर्ब ९९ करोड प्रदेशको राजस्व बाँडफाँड ५५ करोड राजस्व अनुमान गरेको छ ।
स्थानीय राजस्व बाँडफाँडबाट १० करोड र समानीकरण अनुदानतर्फ संघबाट ८० तथा प्रदेशबाट १० करोड रुपैयाँ आउने उल्लेख गरिएको छ ।
त्यस्तै ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपमेयर मञ्जिला शाक्यले नगरसभामा प्रस्तुत गरेको बजेटमध्ये पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालूतर्फ २ अर्ब ४९ करोड ८४ लाख विनियोजन गरिएको छ ।
उता, विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैया बराबरको बजेट ल्याएको छ । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निरौला कार्र्कीले चालू आर्थिक वर्ष ०८०/८१ भन्दा करिब १३ करोड ८१ लाख रुपैया बढीको बजेट सार्वजनिक गरिन् । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा ३ अर्ब ३६ करोड १७ लाख २५ हजार रुपैयाको बजेट ल्याएको थियो ।
विराटनगर महानगरपालिकाले वडास्तरीय योजनाका लागि ४० करोड ५५ लाख, शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड ७८ लाख, स्वास्थ्य विकास कार्यक्रमतर्फ २० करोड ५७ लाख रुपैया बजेट विनियोजन गरेको छ भने कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ६९ करोड रुपैया बजेट छुट्याएको छ ।
चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट आउने ३ करोड रहेको छ । अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रहने प्रक्षेपण गरिएको छ ।
महानगरले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । भरतपुर महानगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शनिबार नै आयोजित १५ औँ नगरसभामा बजेट प्रस्तुत गरिएको हो । महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले आलु आर्थिक वर्षको बजेट भन्दा ६२ करोडले कम बजेट प्रस्तुत गरेका हुन् । महानगरपालिकाले चालु खर्चतर्फ दुई अर्ब ४ करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरेको छ ।
महानगरले खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख लाख, संघीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ ।
त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाडफाडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरि बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।
